उद्योगी मित्तलद्धारा मेची अस्पताललाई १० थान पिपिइ
भद्रपुर,

मेची अञ्चल अस्पताल भद्रपुरमा गुणस्तरीय पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) नहुँदा चिकित्सकलाई उपचार गर्न समस्या भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा अस्पतालको आइसोलेसन वार्डमा हालसम्म पाँच जना बिरामी उपचारका लागि आइसकेका छन् ।
उनीहरूको उपचार खटिने चिकित्सकले लगाउने सुरक्षित पोसाक पिपिइ गुणस्तरीय नभएको भन्दै भद्रपुरका उद्योगी महेश मित्तलले अस्पताललाई १० थान लेबल थ्री पिपिइ उपलब्ध गराएको छ । उद्योगी मित्तलले अस्पतालका मेसु डा। पीताम्बर ठाकुरलाई पिपिइ हस्तान्तरण गरेका हुन् ।
एक सय थान एन ९५ मास्क समेत अस्पताललाई उपलब्ध गराउने बताइएको छ ।उद्योगी मित्तलले आफ्ना स्वर्गीय हजुर बुबा सत्यनारायण र स्वर्गीय बुबा मोहनलाल अग्रवालको स्मृतिमा अस्पताललाई पिपिइ दिएका हुन् । ‘यस्तो सङ्कटको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई सुरक्षित राख्नु नै हाम्रो पहिलो दायित्व हो,’ उनले भने, ‘उनीहरूलाई बचाउन सकिए मात्र हामी बाच्न सक्छौ, त्यसैले उनीहरूको सुरक्षाकै लागि पिपिइ दिएका हौ ।’
अहिलेसम्म अस्पतालमा सामान्य खालको पिपिइ मात्र रहेको बताउँदै डा ठाकुरले भने, ‘बल्ल लेबल थ्री पिपिइ अस्पतालले पाएको छ, जुन आइसोलेसन वार्डमा खटिने स्वास्थ्यकर्मीलाई चाहिन्छ ।’
संक्षिप्त पिपिइ वितरण कार्यक्रममा भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, राप्रपाका नगर अध्यक्ष राधा कार्की, झापा उद्योग वाणिन्य सङ्घका अध्यक्ष नवराज पनेरु लगायतको उपस्थिति रहेको थियो ।
