June 28, 2026

राजगढ र सुरुङ्गाको क्वारेन्टाइमा राखिएकाहरुलाई सहारा नेपालद्वारा खाद्यन्य सहयोग

0

राजगढ, झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन र उपचारका लागि स्थापना गरिएका क्वारेन्टाइनमा रहने व्यक्तिका लागि खाद्यन्य उपलब्ध गराउन शुरु गरेको छ ।


सहकारीमा कार्यरत कर्मचारीहरुद्वारा गठित मानवीय सहायता कोषले क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्य सामग्री उपलब्ध गराउन भन्दै २० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको र सोही रकमबाट खाद्य सामग्री बितरण गर्न शुरु गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक गिरीका अनुसार बाह्रदशी गाउँपालिका – ३ राजगढमा रहेको एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा तयार गरिएको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि आज खाद्य सामग्री प्रदान गरिएको छ । १५ दिनसम्मका लागि पुग्ने गरी आवश्यक पर्ने सबै सामग्री प्रदान गरिएको सहारा नेपाल राजगगढ सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक मोहनविक्रम ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका – १ खयरवारीका कृष्णप्रसाद राजवंशीसहित सो क्वारेन्टाइनमा अहिले तीन जनालाई राखिएको बाह्रदशी गाउँपालिका – ३ का वडाअध्यक्ष बीरेन्द्रप्रसाद राजवंशीले बताउनुभयो ।

कतार एयरवेजको ‘क्यूआर ६५२’विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै बाह्रदशी गाउँपालिका १ खयरवारीका राजवंशी पनि नेपाल आएका थिए ।
उता कनकाई नगरपालिका बडा नं १ स्थित दलित भवनमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुका लागि समेत कोषले ५ बोरा चामल, १ बोरा दाल, २ बोरा आलु, १ कार्टुन तेल, मटर, चिनी, चिउरा, चियापत्ती, ग्यास सिलिण्डर, प्याज, खोर्सानी, बेसार, मसला , साबुन लगायतका आवश्यक पर्ने सबै प्रकारका सामाग्री प्रदान गरिएको सहारा नेपाल साकोसका बरिष्ठ प्रबन्धक राजकुमार दर्नालले जानकारी दिनुभयो ।

बितरणका क्रममा संस्थाका बरिष्ठ सहायक प्रबन्धक पवन मण्डल, शाखा प्रबन्धक कृष्णप्रसाद लुइटेल, क्वारेन्टाइन प्रमुख लक्ष्मीप्रसाद अधिकारीले सहजीकरण गरेको बताइएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *