विपद् व्यवस्थापनका लागि सबै पालिकामा छुट्टा– छुट्टै कोष
सुरुङ्गा , नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न झापाका स्थानीय तहले छुट्टा छुट्टै विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेका छन् ।

विपद्को समयमा हुन सक्ने सम्भावित जोखमलाई मध्यनजर गर्दै प्रत्येक स्थानीय तहले स्थानी स्तरबाट कोरोना भाइरस नियन्त्रणका लागि तयारी तीब्र पारेका हुन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले कोषमा ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने १५ वटास्थानीयतहले आ – आफ्नै पालिका स्तरका कोष स्थापना गरेका छन् ।
क्वारेन्टाइन निर्माणदेखि क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई आवश्यक खाद्यन्य र उनीहरुको स्वास्थ्य र सरसफाइका लागि छुट्टा– छुट्टै कोषको व्यवस्थापन गरिएको बताइएको छ ।
झापामा विपद् व्यवस्थापनका लागि मेचीनगरपालिकाले सबैभन्दा बढी रकम छुट्याएको छ । प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेसंगै मेचीनगरपालिकले ६० लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको नगरपालिका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।
७० वेडको क्वारेन्टाइन निर्माण गरेको मेचीनगरपालिका भारतसंग सिमाना जोडिएको सुदुर पूर्वको नगरपालिका हो । पूर्वी नाका काँकरभिट्टा यही नगरपालिका भित्र पर्ने भएकाले कोरोनाको जोखिम उच्च रहने भन्दै सर्तकता समेत उच्च बनाइएको छ ।
मेचीनगरले स्थापना गरेको क्वारेन्टाइनमा अहिले भारत लगायत विभिन्न देशबाट आएका २१ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।
कनकाई नगरपालिकाले पनि ५० लाख रुपैयाँको कोष स्थापना गरेको छ । विर्तामोड नगरपालिकाले छुट्टै कोष स्थापना नगरेपनि नगरपालिका भित्र रहेको विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट विपद्का समयमा आवश्यक रकम खर्च गर्ने व्यवस्था मिलाएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।
त्यस्तै कमल गाउँपालिका र दमक नगरपालिकले पनि विपदका लागि भन्दै १० ÷१० लाख रुपैयाँको कोष स्थापना गरेको छ ।
झापामा छुट्टा छुट्टै गाउँपालिका र नगरपालिकले आफ्ना पालिका भित्र रहेका नागरिकलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दै मलाई कोरोनाको संक्रमण हुन्छ भन्दै नआत्तिन सबैलाई अनुरोध गरेका छन् ।
झापाका दुई वटा अस्पताल मेची र विएण्डसीमा आइसोलेलनसहितको व्यवस्था मिलाइएको छ भने ३ सय ३१ वेडका क्वारेन्टाइन निर्माण गरिएको छ । –––
