July 3, 2026

जनतामा कोरोनाको त्रास, व्यापारी कमाइ धन्दामा

0

बुद्धशान्ति ।

झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहिबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ ।

व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा ग्यास छैन भन्दै बढी मुल्यमा बिक्रि गरेको, लुकाएको पाइएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलले बताइन् ।

जनताको व्यापक गुनासो आएपछि बुधबारेका केही व्यापारीले जनतामा देखिएको कोरोना त्रासले भविश्यमा राम्रो कमाइ गर्न सकिन्छ भनेर ग्यास, खाद्य सामग्री लुकाएको र बढी मुल्यमा बिक्रि गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।

शान्ति किराना पसल लगायतले ग्यास लुकाएको, पर्ने भन्दा बढीमा विक्रि वितरण गर्दै आएको तथा मिति गुज्रिएको सामग्री बिक्रि गरेको, लक्ष्मी भाँडा पसल लगायतका केही पसलले ग्यास बढी मुल्यमा बिक्रि गरेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष धरणी पोखरेलले बताएका छन् ।

स्टक नदेखाउन व्यापारीले नक्कली ग्राहक बनाएर पनि ग्यास लुकाएको पाइएको छ । ग्यासको कृतिम अभाव सृजना गर्न डिलरले नै ग्यास नदिएको पाइएको झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईले बताए ।

अनुगमनका क्रममा केही व्यापारीले देशमा हुन सक्ने संकटबाट बढी कमाउन सकिन्छ भनेर उपभोग्य सामग्री लुकाएको र कमाउने बहानामा बढी मुल्य असुलेको देखिएको बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भु पौड्यालले बताए । लुगाएर राखिएको ग्यास अनुगमन टोलीकै अगाडी उपभोक्तालाई बाँड्ने काम पनि भएको अनुगमन टोलीले बताएको छ । व्यापारीहरुलाई त्यसो नगर्न सम्झाउने काम पनि भएको उपाध्यक्ष भूर्तेलले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *