July 5, 2026

झापा।

झापाका चारबाट सडक निर्माणमा जेडसिजीआईएसी–आशीष– प्रेरा जेभीले करिव ९ करोड रुपैँया कमिशन लिएर सडक निर्माण कार्य पेटी कन्ट्याकमा बेचेको खुलेको छ ।

नेपाल सरकार र एडीवी अर्थात् एश्यिाली विकास बैंक सँगको साझेदारीमा जेडसिजीआईइसी–आशिष –प्रेरा जेभी कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो । तर, झापामा रहेको कञ्चन निर्माण सेवा, बिष्णु निर्माण सेवा र पशुपति इन्जिनियरिङ एण्ड विल्डर्स नामक कम्पनीलाई पेटी कन्ट्याकमा सडक निर्माणको जिम्मा दिएर आफूले काम नै नगरी मोटो रकम फाइदा लिएको खुलेको हो ।

०७५ साल बैशाखबाट निर्माण शुरु भएका चार सडकहरुमा अमलडाँगी–समयगढ–बाँँसबारी– सोलमारी, चारपाने–चैतुवारी–मोतीगढ–साधुकुटी– घोडामारा–राजगढ सडक, खर्साङवारी–जलथल–मंगलवारे–बाहुनढोका–अधिकारी चौक, पाडाजुंगी–गुवावारी–झर्का–वालुथान–चप्रामारी–खजुरगाछी सडक रहेका छन् ।

चारवटै सडक निर्माणका लागि जेडसिजीआईएसी–आशीष–प्रेरा जेभीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास पूर्वाधार विभागसँग ६७ करोड ९३ लाख ७९ हजार ९ सय ९५ रुपैयाँमा सम्झौता गरेको थियो । तर, जेडसिजीआईएसी–आशीष –प्रेरा जेभीले यी चारवटै सडक निर्माणका लागि ३ वटा कम्पनीलाई जम्मा ५२ करोड ८८ लाख ५४ हजार ९ सय ९९ रुपैयाँमा दिएको छ । यसबाट जेडसिजीआईएसी–आशीष –प्रेरा जेभीले काम नै नगरी ६ करोड ४० लाख ६५ हजार ३ सय ५४ रुपैयाँ फाइदा लिएको छ । साथै सरकारबाट ‘क’ प्राप्त हुने मूल्यबृद्धि शुल्कको १० प्रतिशत रकम २ करोड ५० लाख रुपैँया समेत गरी कूल ८ करोड ९० लाख रुपैयाँ नाफा गरेको खुलेको हो ।

जेडसिजीआईइसी–आशिष –प्रेरा जेभी कम्पनीले चारवटा सडकहरुको निर्माण गर्ने जिम्मा लिएको थियो । जेडसिजीआईइसी–आशिष–प्रेरा जेभी छुट्टाछुट्टै कम्पनी हुन् । जेडसिजीआईएसी कम्पनी चिनिया कम्पनी हो भने अन्य २ वटा नेपाली कम्पनी हुन् ।

तीनबटै कम्पनी मिलेर नेपाल सरकार र एशियाली विकास बैक ‘एडिवी’ सँगको साझेदारीमा निर्माण हुने ४ वटा सडक निर्माणका लागि ठेक्का लिएका हुन् । कम्पनीको जोइन्ट भेन्चरमा सन् २०१८ मार्च ३० तारिखका दिन काम गर्न नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास पूर्वाधार विभागसँग सम्झौता भएको थियो ।

सम्झौता भएको केही दिनमै चिनिया कम्पनी जेडसिजीआईइसीले आफ्नो हिस्सा लिएर काम गर्ने पूर्ण अधिकारसहित आफ्नो दायित्वबाट उम्किएको हो । सबै भुक्तानी तथा कारोबारका लागि जेडसिजीआईइसी–आशीष–प्रेरा जेभी कम्पनीको नाममा विकास मल्ललाई काम गर्ने अधिकार दिएर २०७५ जेठ २ गते चिनिया कम्पनी बाहिरिएको श्रोतले बतायो ।

चिनियाँ कम्पनीले ठेक्का सम्झौता गर्दा मात्र ९० लाख रुपैयाँ कमिशन लिएको श्रोतको दावी छ । श्रोतका अनुसार सो कम्पनीले आफ्नो कमिशन बराबरको रकम लिएपछि कामपछिको कुनै हिस्सा नखोज्ने गरी सहमति पत्रमा हस्ताक्षर समेत गरेको बताइएको छ ।

चिनियाँ कम्पनीले कामबाट हात झिकेसँगै नेपालका दुई कम्पनीले पनि सो चारवटा सडक निर्माणका लागि पेटी कन्ट्याकमा तीनवटा छुट्टा–छुट्टै कम्पनीलाई सडक निर्माणका लागि दिएका छन् ।
झापामा रहेको कञ्चन निर्माण सेवा, बिष्णु निर्माण सेवा र पशुपति इञ्जिनियरिङ एण्ड विल्डर्स नामक कम्पनीलाई जेडसिजीआईएसी–आशीष–प्रेरा जेभीले करिव ९ करोड रुपैँया कमिशन लिएर सडक निर्माणको जिम्मा लगाएपछि सडकको गुणस्तरमा अहिले प्रश्न चिन्ह खडा भएको छ ।

निर्माण कम्पनीले एकपछि अर्काे गर्दै पेटी कन्ट्याकमा कमिशन लिएर आयोजनाको काम जिम्मा लगाउँदा आयोजनाहरु नै प्रभावित हुने गरेको भौतिक निर्माणका बिज्ञहरुले बताएका छन् । लामो समयसम्म सडक विभागमा काम गरेका पूर्व विभाग प्रमुख भक्तराज शाक्यका अनुसार झापामा पनि यही कारणले विकासको काम ढिलो हुने गरेको हो ।

एडीबी अन्तर्गत झापामा सञ्चालित ४ वटा योजना सञ्चालनको प्रमुख परामर्शदाता समेत रहेका उनले जेडसिजीआईइसी–आशीष–प्रेरा जेभीले पेटी कन्ट्याक्टर लगाएर काम गरेका कारण काममा ढिलाइ भएको बताए ।
उनका अनुसार पेटी कन्ट्याक्टरलाई काम जिम्मा दिएका कारण झापामा बनिरहेका ४ वटै सडकमा शुरुदेखि नै जेडसिजीआईएसी–आशीष –प्रेरा जेभीले जरिवाना तिर्दै काम गरिरहेको छ । यो काम सक्नका लागि २४ महिनाको अवधि थियो । यो अवधिलाई ३ भागमा वर्गीकरण गरेर सोही समय तालिका अनुसार कामको प्रगति हुनुपर्ने भए पनि पहिलो चरण देखिनै काममा प्रगति गर्न नसक्दा जरिवाना परेको उनको भनाइ छ ।

तीन चरण अर्थात् पहिलो दुई वर्ष निर्माण अवधि, एक वर्ष त्रुटि सच्याउने अवधि र बाँकी दुई वर्ष कार्यसम्पादनमा आधारित मर्मत गर्ने गरी सम्झौता भएको हो । उनका अनुसार पहिलो ८ महिनामा जम्मा कामको २५ प्रतिशत काम सक्नु पर्ने थियो । तर, त्यो नसकेका कारण पहिलो चरणमा ४ लाख रुपैयाँ जरिवाना परेको छ । त्यस्तै गरी दास्रो चरण अर्थात् १६ महिनाभित्रमा ६० प्रतिशत काम सकिसक्नुपर्ने हो । तर, त्यो पनि नसकिएका कारण पुनः जरिवाना परेको छ । त्यस्तै अहिले तेस्रो तथा अन्तिम चरण चल्दैछ । यो अवधि सकिन एक महिना १० दिन मात्र बाँकी छ । यो अवधिमा काम नसक्दा जरिवाना अझ बढेर जाने शाक्यको भनाइ छ ।

दास्रोपटकको जरिवाना डिसेम्बर १९ तारिखदेखि शुरु भएको उनले बताए । दिनको १ लाख ६५ हजारका दरले जरिवाना लागेको हो । दास्रो पटकको अवधि सकिएर अहिले तेस्रो चरणको अवधि शुरु भएको छ– उनले भने– यो अवधिमा शत्प्रतिशत काम नसकिएमा दिनको तीन लाख ३० हजार रुपैयाँका दरले जरिवाना लाग्छ ।

परियोजना कार्यान्वयन गराउने निकाय ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई कार्यालयका इञ्जिनियर बिदुर पोखरेलका अनुसार अहिलेसम्ममा समग्र सडकको ४३.५ प्रतिशत काम सकिएको छ । अबको १ महिना १० दिनमा बाँकी काम गर्न सम्पन्न गर्ने कुनै आधार नै नभएको उनले बताए ।

निर्माणाधीन चार वटा सडक हेर्ने जिम्मा पाएका उनले ठेकेदारको शुरुबाटै ढिलासुस्तीका कारण काममा ढिलाइ भएको बताए । काम नै सम्झौता भएको ६÷७ महिनापछि मात्र शुरु भयो, त्यही भएर पनि काममा ढिलाइ भइरहेको छ– उनले भने– हामीले काम गर भन्ने हो काम निर्माण कम्पनीले गर्ने हो ।

जेडसिजीआईएसी–आशीष–प्रेरा जेभीका तर्फबाट प्रेरा कम्पनीका प्रबन्ध निर्देशक प्रेम मल्लले झापामा रहेको कञ्चन निर्माण सेवासँग सम्झौता गरेका बताएका छन् । सम्झौता पत्रमा जम्मा ठेक्का रकमको १३ प्रतिशत कम शुल्कमा काम गर्न जेडसिजीआईएसी–आशीष–प्रेरा जेभीबाट बिर्तामाडको कञ्चन निर्माण सेवा र पशुपति इञ्जिनियरिङ एण्ड बिल्डर्ससँग फरक–फरक सम्झौता भएको पाइएको छ ।

पशुपतिसँग अमलडाँगी–सोलमारी सडक खण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७ सय ३३ रुपैयाँमा काम गराउन सम्झौता भएको छ । त्यस्तै चारपाने–राजगढ सडक निर्माणका लागि कञ्चन निर्माण सेवासँग १९ करोड ५४ लाख ४७ हजार ३ सय ४२ रुपैयाँमा निर्माण गर्न दिने जिम्मा जेडसिजीआईएसी–आशीष –प्रेरा जेभीले दिएको छ ।

त्यस्तै गरेर पाडाजुँगी– खजुरगाछी सडक र खर्साङबारी–अधिकारी चोक सडक दुईवटै गरेर १६.५ किलोमिटर निर्माण गर्नका लागि बिष्णु निर्माण सेवासँग सम्झौता भएको छ । १० किलोमिटर लम्वाइ रहेको पाडाजुँगी–खजुरगाछी सडक निर्माणका लागि १२ करोड २८ लाख ७० हजार ७ सय ७४मा ठेक्का दिएको छ भने अर्को खर्साङबारी–अधिकारी चोक (६.५ किलोमिटर) सडक निर्माण गर्नका लागि ७ करोड ३९ लाख ३८ हजार एक सय ५० रुपैयाँमा ठेक्का दिएको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना , आयोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख शम्भु कार्कीले झापाका निर्माण कम्पनीलाई काम गर्न दिएको जानकारी आफूले पाएको बताएका छन् । तर यसबारेमा उक्त कम्पनीलाई पत्र काटेर सोधपुछ गर्दा ठेक्का नबेचेको भन्ने आशयको पत्र पठाएका कारण कार्वाही गर्न पनि अन्यौल भएको कार्कीले बताए । समयमा काम नसके निर्माण कम्पनीलाई कारवाही गर्ने उद्घोषसहित प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सडकको शिलान्यास गरेका थिए ।

यता सडक निर्माणका विषयमा आवश्यक जानकारी लिन जेडसिजीआईएसी–आशीष –प्रेरा जेभीका विकास मल्लसँग पटक–पटक टेलिफोन सम्पर्क गरिए पनि उनले रेस्पोन्स गरेका छैनन् । उनलाई पूर्वाञ्चल दैनिकको ०२३–५४१००२ नम्वरको टेलिफोनबाट पटक–पटक सम्पर्क गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *