July 8, 2026

कृषकलाई अनुदानमा च्यापकटर

0

बनियानी,

झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतमलगायतले संयुक्तरूपमा च्यापकटर कृषकलाई हस्तान्तरण गर्नुभएको थियो ।

नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताउनुभयो । “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले प्रदान गरेको मेसिनको सदुपयोग गर्नुहोस्, कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु हो ।”

कार्यक्रममा कृषक नन्दु उप्रेतीले यन्त्र प्रदान गरेकामा धन्यवाद दिँदै सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख प्रसाईंले नगरमा कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । साझेदारी अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई नगरपालिकाले ४५ र सहारा नेपाल साकोसले २५ च्यापकटर दिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिनुभयो ।

रु छ लाख ४० हजारको लागतमा उक्त यन्त्र खरिद गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा पशु सेवाअन्तर्गत रु एक करोड १६ लाख बजेट विनियोजन गरेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *