सकियो महोत्सव
बिर्तामोड।
बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव सम्पन्न भएको छ । स्वर्ण महोत्सवको अवसरमा गत फागुन २१ गते शुरु भएको साताव्यापी श्री १०८ सागर पाठपारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ समेत सम्पन्न गरिएको आयोजक मूल समारोह समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए ।
उक्त धार्मिक अनुष्ठानमा नेपाल तथा भारतको बंगाल, आसाम, सिक्किम, गुजरात समेतका गरी ५० हजारभन्दा बढीको सहभागिता रहेको थियो । अनुष्ठानमा महामंगलपुरीधाम सुरतबाट धर्माचार्य जगतगुरु आचार्य श्री १०८ सूर्यनारायणजी महाराज, बाबा दयारामधाम कर्नालबाट श्री १०८ जगतराजजी महाराज, श्री भद्रावतीपुरीधाम भरोढाबाट श्री १०८ टहलकिशोरजी महाराज, मंगलधाम कालिम्पोङबाट श्री १०८ मोहन प्रियाचार्यजी महाराज, पीताम्बरपीठ आसामबाट श्री १०८ नाराण्ण स्वामीजी महाराज, रायगढबाट वाणी प्रशिक्षक श्री महेन्द्र महाराजले आशीर्वचन प्रदान गरेका थिए ।
त्यस्तै श्री नवतनधाम काठमाडौंबाट श्री १०८ अमृतराजजी महाराज, धर्मधाम जिरौनाका १०८ श्रीराजेन्द्र शास्त्रीजी महाराज, श्री मुक्तिधाम इटहरीबाट १०८ श्री कृष्णदासजी महाराज, प्राणनाथ आश्रम देवघाटधामबाट प्रथम महिला भागवत वाचिका विदुषी तारा माताजी, श्री ५ पदमावतीपुरीधाम पन्नाका गुरुजीलगायतले प्रवचन तथा आशीर्वचन प्रदान गरेका थिए ।
कार्यक्रम सफल बनाउन श्रीकृष्ण प्रणामी सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद्, श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् बाइजुराज महिला समितिको सक्रिय भूमिका रहेको थियो भने दुई सय स्वयम्सेवक परिचालन भएका थिए ।
सोही कार्यक्रममा युवा परिषद्, सत्संग परिषद र बाइजुराज समितिको सम्मेलन गरिएको थियो । महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन गरिएको र स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सहयोगदाता, समाजसेवीलाई सम्मान समेत गरिएको प्रचार–प्रसार संयोजक टहलदास ओलीले जानकारी दिए ।
महोत्सवमा शिक्षासेवी जयनारायण ढुंगाना, कानून व्यवसायी टंक उप्रेती, अशोक पोखरेल, नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडाल, संस्थागत रुपमा रोटरी, जेसीज, रेडक्रस, मारवाडी सेवा समिति, लायन्स संस्थालाई समेत सम्मान गरिएको महासचिव थपलियाले बताए ।
त्यसैगरी सोही कार्यक्रममा सुश्रुत आयुर्वेद बिर्तामोडले राखेको आयुर्वेदतर्फको शिविरमा चार सय ५५ जनाले सेवा लिएका थिए भने चार लाख १५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो । त्यसैगरी, प्राञ्जल फार्मेसीले राखेको शिविरमा चार सय ९७ जनाले सेवा लिएका थिए भने आयुर्वेदतर्फ डा. सञ्जय गुप्ता, डा. सिद्धार्थ ठाकुरले र एलोप्याथीतर्फ डा. गोविन्द कँडेल र डा. खुश्बु अग्रवाल, डा. सुधिर गिरी लगायतले बिरामीको चेकजाँच गरेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष युवा सन्त डा. जगतनन्दन शास्त्रीजी महाराजले बताए ।
