July 6, 2026

जैविक रसायनको भण्डार ‘गाँजा’

0

तुलसीराम खरेल,

मध्य एसीयाबाट विकास भई संसारका अन्य मुलुकहरुमा फैलिएको र परम्परागत औषधिको रुपमा प्रयोग हुँदै आएको एउटा वनस्पति हो गाँजा । यसको औषधीय महत्व रहे पनि नशालु पदार्थको रुपमा प्रयोग हुने गरेको कारण यसलाई धेरै मुलुकहरुले प्रतिबन्ध लगाएका छन् । यसको फाइदा र बेफाइदा दुबै हुने कुराहरुकाबीच यसमा के–कस्ता जैविक रसायनहरु हुन्छन् र तीनलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराकै सेरोफेरोमा रहेर यो आलेख तयार गरिएको छ । नेपालमा पनि यसको खेती, ओसारप्रसार तथा बिक्री–वितरणमा बन्देज लगाइएकोमा अहिले आएर यसलाई अन्य लागू औषधि जस्तै ठानिनु गलत हो भन्ने बहसको जन्म भएको छ । यसका दुईवटा प्रजातिहरुको खेती गर्न सकिने बताइएको छ । यसको वैज्ञानिक परिवार कानाबेसी हो । एउटा प्रजातिको वैज्ञानिक नाम ‘कानाबिस सेटिभा’ हो भने अर्को प्रजाति’ कानाबिस इन्डिका’ हो । यी प्रजातिहरुबीच केही फरकहरु देख्न सकिन्छ ।

अहिले यी दुबै प्रजातिहरु संसारभर फैलिएर रहेका छन् । इतिहासमा नेपालमा यसको खेती गर्ने गरिएको र यसले यहाँको अर्थतन्त्रमा ठूलै हिस्सा ओगटेको कुरा बताइन्छ । यसलाई औषधि बनाउन नेपालमै समेत प्रयोग गरिँदै आएकोमा लागूपदार्थ नियन्त्रण तथा ओसारप्रसारविरुद्ध बनाइएको ऐन २०३३ जारी भएपश्चात सिंहदरवार बैद्यखानाले यसको प्रयोगलाई रोकेको इतिहास पाइन्छ । लगभग सोही समयमै पश्चिमा धेरै मुलुकहरुले यसको खेतीमा प्रतिबन्ध लगाएको र नेपालमा समेत प्रतिबन्ध लगाउन दवाव दिएको भन्ने समेत सुनिन्छ । हिन्दू संस्कृतिमा यसलाई स्वीकारिएको नसाको रुपमा मानिन्छ । खास गरेर यसलाई शिवरात्री र होलीको अवसरमा सेवन गरिँदै आएको छ ।

अन्य समयमा समेत मन्दिरमा साधुहरुले यसको सेवन गर्ने गरेको पाइएको छ । खास गरेर भाङ र गाँजालाई भोक जगाउन, मानसिक तनाव र थकान मेटाउन तथा पखालाको औषधिका लागि अत्यधिक प्रयोग हुनसक्ने बताइएको छ । भर्खरै मात्र नेकपाका सभासद शेरबहादुर तामाङले संघीय संसदमा यसको खेती गर्न पाउनुपर्ने भन्ने बिधेयक दर्ता गराएका हुन् । बिधेयकमा गाँजा खेतीलाई व्यवस्थित, वैज्ञानिक तथा किसानको आयआर्जनसँग जोडेर हेर्नुपर्ने बताइएको छ ।

यसको खुल्ला बिक्री–वितरण, जथाभावी खेती गर्ने र अन्धाधुन्द उपयोग गरिने कुराहरुलाई भने निरुत्साहित गर्नुपर्ने उत्तिकै महत्वपूर्ण हुन्छ । बिधेयकमा गाँजा खेती एकाघरका परिवारका सदस्यको नाममा रहेको जमीनमा मात्र गर्न पाइने, राजपत्रमा प्रकाशित गरिने, नियमन बोर्ड स्थापना गरिने जस्ता कुराहरु राखिएको छ । विश्वका ६२ वटा मुलुकहरुले यसको खेतीमा लगाइएको प्रतिबन्धलाई फुकुवा गरेका छन् । नेपालमा समेत यसको खेतीमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग हुँदै आएकोमा नेकपाका सभासद बिरोध खतिवडाले यसको खेतीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न गत माघ महिनाको १४ गते प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावको पक्षमा ४६ सभासदहरुले समर्थन गरेका छन् । संसदमा यसको विपक्षमा समेत आवाजहरु उठेका छन् ।

फर्मासिटिकल आधारमा हेर्दा गाँजालाई एकदमै सक्रिय जैविक रसायनहरुको भण्डारको रुपमा मानिन्छ । यसमा पाइने जैविक रसायनहरुलाई मुख्य गरेर तीन वटा समूहभित्र राखिएको छ । केनाबिनोईड्स, टर्पेन्स तथा फेनोलिक यौगिकहरु । केनाबिनोइड्सलाई धेरै अध्ययन गरिएको यौगिकहरुको समूह मानिन्छ । औषधि विज्ञानमा यस समूहको महत्वबारेमा रुसो र उनको समूहले सन् २००८ मा तथा स्कगलुण्डले सन् २०१३ मा अध्ययन गरेका छन् । यसलाई जैविक प्रविधि र जेनेटिक इञ्जिनियरिङमा समेत प्रयोग गर्न सकिने ती अनुसन्धानहरुको ठहर रहेको छ । टउराले सन् २००७ तथा जीर्पेलले सन् २०१५ मा गरेको अध्ययन अनुसार यस समूहका रसायनहरुको सहयोगमा केही सूक्ष्म जिविहरुको निर्माण गर्न सकिन्छ । खास गरेर टेट्राहाइड्रो केनेबोलिक एसिड(टीएचसीए) र केनेबिडियोलिक एसिड(सीबिडिए)लाई यस प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।

बाओको सन् २०१४ को अनुसन्धानले यस वनस्पतिको डाँठमा पाइने पदार्थहरुलाई एन्टिब्याक्टेरियल लक्षण भएका भनेको छ । रेशाको स्रोतको रुपमा समेत प्रयोग गर्न सकिने, यसबाट प्राप्त हुने फाइबरलाई ग्लास फाइवरभन्दा गतिलो मानिन्छ र यसलाई जैविक प्लाष्टिकको रुपमा समेत उपयोग गर्न सकिने भनिएको छ । २००५ को खानको एउटा अनुसन्धानले समेत यसमा पाइने बीटा सिस्टोस्टेरल तथा बीटा एमाइरिनलाई एन्टिब्याक्टेरियल भनेको छ । उनको अनुसन्धानमा ९० वटाभन्दा बढी केनाबिनोईड्स पदार्थहरुको संग्रह यसमा भएको बताइयो । यी पदार्थहरुको असर मानिसको पेटमा पाइने ई कोली नामको ब्याक्टेरिया मा हेरिएको थियो ।

रोथसिल्ड र उनका सहयोगीहरुको सन् २००५ को अनुसन्धानले गाँजामा एक सयभन्दा बढी टर्पेन्स पदार्थहरु रहेको खुलासा गरेको छ । यसलाई सुगन्ध तथा स्वादकारुपमा बिभिन्न खाद्यपदार्थहरुमा उपयोग गर्न सकिन्छ । कोमोरीको समूहले सन् १९९५ मा गरेको अनुसन्धान अनुसार यसमा रहेका टर्पेन्सहरु एन्टिक्यान्सर छन् । यिनिहरुलाई क्यान्सरको औषधि बनाउन तथा मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोगी हुने भनिएको छ । गाँजामा बिभिन्न २० वटाभन्दा बढी फेनोलिक पदार्थहरु रहेका हुन्छन् । केनाफ्लाभिन ए, बी, सी प्रमुख रहेका छन् । गाँजाको पातमा तिनिहरु रहेका कुरा रोसको सन् २००५ को अनुसन्धानमा उल्लेख छ । गोउल्डले सन् २०१५ मा गरेको अनुसन्धानले यसलाई पोटेन्ट एन्टिअक्सिडेन्ट, एन्टी भाइरल, एन्टी डाइबेटिक, एन्टी ओबेसिटी बनस्पतिको रुपमा चित्रित गरेको छ । यस अनुसन्धानले ५४० उक्त प्रकारका यौगिकहरु रहेको पुष्टी गरेको छ ।

नेपालको भूगोल, हावापानी र जमिनको अवस्था गाँजा खेतीका लागि एकदमै उपयुक्त मानिन्छ । यसको खेतीगर्न खास गरेर पछि पारिएका, आदिवासी, दलीत किसानहरुलाई सहयोग गरेरै व्यवस्थापन गरिने हो भने गरिबी निवारणमा सहयोगी हुन सक्ने देखिन्छ । उत्पादनलाई जथाभावी किनबेचमा रोक लगाउँदै किसानका खेतबाटै नेपाल सरकारले किनिदिने हो भने मात्र न्यायसंगत हुन्छ नत्र किसान मर्ने र बिचौलिया मोटाउने सम्भावना रहन्छ ।

अर्कोतर्फ यसको विकृतिको पाटो समेत मौलाउन सक्छ । नेपाल सरकारले गाँजा, भाङ, धतुरो, असूरो, पलाँस, दूबो, बोझो, घोडताप्रे, गुरास, चरी अमिलो, घ्यूकुमारी, अभिजालो, भ्रीङ्गराज, अमरलती, नीम, गुर्जो, आँक, काउसो, कुरिलो, कान्छी मधु, जेठी मधु, गुच्छी च्याउ, चाँदमरुवा, पदमचाल, टिमुर, जामुन, तुलसी, पाँचऔँले, पिपला, वेल, सीलाम, हलहले, चुत्रो, शुनकेस्रे लहरो आदि जस्ता सर्वसुलभ तथा मधेश या पहाडमा खेती गर्न सकिने औषधीजन्य वनस्पतिमा पाइने यौगिकहरुको पहिचान गरेर औषधि बनाउने उद्योग खोल्न सकेमा हजारौँ नेपाली युवा वैज्ञानिकहरुले अनुसन्धान गर्न पाउने सम्भावना देखिन्छ । लाखौँ युवाहरुले रोजगारी प्राप्त गरी बिदेश पलायन हुने दरलाई कम गर्न सकिन्थ्यो । स्वदेशमा जडीबुटी खेतीको वैज्ञानिक व्यवस्थापन तथा त्यसमा आधारित उद्योगले रोजगारीको सिर्जना हुन गई समृद्ध नेपाल सुखी नेपालीको नारा चरितार्थ गर्न मद्दत पुग्नेतर्फ तीनै तहका सरकार र सम्बन्धित सबैको ध्यान जानु जरुरी छ ।

वनस्पति विज्ञानमा स्नातकोत्तर लेखक खरेल शिक्षण पेशामा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *