July 13, 2026

नाट्य क्षेत्रका विकल्प, टंक विकल्प

0

झापाली साहित्य र नाटक विधाले नबिर्सने नाम हो–टंक काफ्ले (विकल्प) । आमा पद्मादेवी र बुबा जगन्नाथ (विष्णुभक्त) काफ्लेको काइलो सन्तानको रुपमा जन्मिएका विकल्प झापाली साहित्यका एक चम्किलो नक्षत्रको रुपमा रहेका छन् । सानो चेडा हँसिलो अनुहार अनि के युवा के वृद्धा सबैसँग एकैछिनमा घुलमिल हुन सक्ने क्षमता भएका विकल्प नाटक क्षेत्रमा बहुप्रतिभाको धनीका रुपमा रहेका छन् । पाँचथरको सुभाङमा जन्मिएका विकल्पको बाल्य अवस्था भने झापाको बुद्धशान्ति–१ होक्सेमा बित्यो । ५८ वर्ष उमेरका विकल्प अहिले पनि २८ वर्षे युवा झैं कला र साहत्यिमा अब्बलरुपमा प्रस्तुत हुने गरेका छन् ।

बुबाले हजुरबुबाको श्राद्ध गर्नका लागि पिण्ड चढाउने चामल नपाउँदा झापा झारिएका काफ्ले परिवार अहिले सम्पन्न परिवारको रुपमा चिनिने गरेको छ । बिएसम्मको अध्ययन गरेका विकल्पले बुद्धशान्तिमा नै रहेको बुद्धआर्दश माविबाट एसएलसी उत्तिर्ण गरेका हुन् । सानै उमेरदेखि साहित्य सिर्जनामा रुची राख्ने विकल्पले हाम्रो देश विशाल शीर्षकको पहिलो कविता रचना गरेका थिए । आमाले छोराछोरीलाई शिक्षित बनाउनुपर्छ भन्ने सोच र बुबाको दृढ इच्छाशक्ति कै कारण आज विकल्पको परिचय दिन पाएको भन्दै उनले आमाबुबा भगवानभन्दा माथि भएको उल्लेख गरे ।

सानो छँदा फुटबल खेलमा औधी रुची राख्ने विकल्पले पहिलो पटक २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रको शुभराज्यभिषेकको अवसरमा नाटक प्रहसन गरेका थिए । लिम्बू संस्कृतिको उनको त्यो प्रस्तुति निकै चर्चामा आएको थियो । कक्षा ७ मा पढ्दादेखि नै नाटकमा अभिनय गर्न शुरु गरेका विकल्प नाटक अन्तर्गत सडक, रेडियो, मञ्च सबैतिर एकछत्ररुपमा प्रस्तुत भएका छन् । छ दर्जन जति गजल, एक दर्जनभन्दा धेरै भजन, तीन दर्जन निबन्ध र सयभन्दा बढी नाटक सिर्जना गरेका विकल्प झापाली साहित्यका एक मुर्धन्य ब्यक्ति हुन् । केन्द्रमा बसेर सिर्जना गर्ने र मोफसलमा बसेर सिर्जना गर्ने व्यक्तिमा ठूलो र सानो भन्ने भेद रहनुहुन्न भन्ने व्यक्तिगत ठम्याइ राख्ने विकल्पले आफ्नो कर्मभूमिलाई कहिले पनि छाडेनन् । नाटकमा सबैको रोजाइको पात्रको रुपमा रहेका विकल्पले कृतिका रुपमा भने घडीका सुइरा नामक नाटक संग्रह मात्र प्रकाशित गरेका छन् ।

साहित्य कै दृश्यकाव्य विधा ठानिने नाटक आफ्नो प्रिय विधा उनी बताउँछन् । ‘नाट्यश्वरीको बरदान पाएर होला सायद हालसम्म रङ्गमञ्चीय नाटक, रेडियो नाटक र सडक नाटक गरी झण्डै दुई सय पचासभन्दा बढी नाटकहरूमा अभिनय, करिब दुई सयभन्दा बढीका नाटकमा निर्देशन, सानो तथा ठूलो पर्दाका डेढ दर्जन चलचित्रमा अभिनय गर्ने र केहीमा निर्देशन गर्ने अवसर प्राप्त भएको छ । यसरीभन्दा म आफूलाई एकपाटो साहित्य र अर्को पाटो कलाअंकित सिक्का ठान्दछु ।’ –उनले भने– ‘आमाको शिक्षाप्रतिको मोह र बुबाको दृढ इच्छाशक्ति नभएको भए अहिले टंक काफ्ले मात्रै हुने थिएँ । उनी भन्छन्– ‘आमाबुबाकै कारण आज विकल्प बन्न सफल भएको छु ।’

वि.सं.२०१८ साल श्रावण २९ गते आइतबार पाँचथरको साविक सुभाङको लाइम्बा (हाल हिलियाङ गापा) मा भएको हो । साहित्य र कलाको विद्यार्थी भएकै कारण कञ्चनजङ्घा एफएम बिर्तामोड र पाथीभरा एफएम दमकमा रेडियो नाटक सञ्चालन गर्ने अवसर पाएका विकल्पको रेडियो नाटक निकै चर्चामा रह्यो । रेडियो कै कारण धेरैले विकल्पलाई चिन्ने अवसर पनि पाए । रेडियो नाटकबारे विकल्प भन्छन्– ‘सबैको नाम उल्लेख गर्न म अहिले असमर्थ छु, तर पनि दिगोरूपमा टिममै रहेर काम गर्ने साथीहरू कृष्ण अनमोल, निर्मला भण्डारी, लवकुश गौतम, मिना शिवाकोटी, मनिषा शिवाकोटी, दीपा भेट्वाल, विमला चिमरिया, प्रिया दास, राजु थापा, सुनिता सुब्बा, रुद्र प्रभात र केही समय भीमा शिवाकोटी र पिनाकी कोइरालाले पनि साथ दिएका थिए । तर, अझै थुप्रै साथीहरूको नाम सम्झन सकिन क्षमाप्रार्थी छु । रेडियो नाटकले मलाई रेडियोकर्मी मात्र बनाएन असंख्य श्रोताहरूसँग परिचित पनि गरायो ।

त्यसका अतिरिक्त कार्यक्रममा उद्घोषक, उद्घोषण प्रशिक्षक र अभिनय प्रशिक्षक पनि भएर उनले काम गरिसकेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा लगायत विभिन्न संघ–संस्थाले आयोजना गरेका उद्घोषण र अभिनय तालिमको सहजकर्ता रहेर काम गर्नेक्रम आज पनि जारी छ । साहित्य र कलाको विद्यार्थी हुँदाहुँदै पत्रकारिता प्रति पनि जिज्ञाशा जाग्यो । झापाका अग्रज पत्रकार नकुलकाजीले पत्रकारिताको कखरा बरुण साप्ताहिकबाट सिकाएको विकल्प स्मरण गदर्छन् । हाल पूर्वाञ्चल दैनिकको बुद्धशान्ति समाचारदाताको रुपमा कार्यरत रहेका छन् । कृषि पेशासँगै विकल्पले २०४४ देखि २०४७ सम्म सामुदायिक विद्यालयमा शिक्षण गरे, बीचमा सिनेमा कर्मतर्फ लागे भने २०५० सालदेखि १६ वर्षसम्म संस्थागत विद्यालय महानन्द शिक्षा सदनको शेयर तथा शिक्षक भई शिक्षण पेशामा नै आवद्ध भए । जीवनको अत्यन्त ऊर्जाशील समय शिक्षण सेवामा व्यतित गर्न पाएकोमा आनन्दानुभूति भएको भन्दै विकल्पले भने–‘आफूले शिक्षा दिएका भाइबहिनीहरूले आज विभिन्न क्षेत्रमा प्रगति गरेको देख्दा आफूले ठूलै गुरुदक्षिणा पाएको अनुभूति गर्दै गर्वले छाती फुल्छ ।’

विकल्पले सम्झन्छन्– ‘२०६६ पछि जीवन एकपटक चौबाटोमा किंकर्तव्यविमूढ झैं उभिएर गन्तव्यको खोजीमा रहे झैं भयो । जीवन शून्यमा ओर्लिएर अंकगणितको अंक खोजे झैं भयो । जीवन न्युट्रलमा रह्यो र गन्तव्यतर्फ लम्कने गियरको प्रतिक्षामा रह्यो । एउटा मान्छेको जिन्दगी अगाडि बढ्न र सफलता प्राप्त गर्न अर्को मान्छेको हात, साथ र सहयोगको अहम् भूमिका हुन्छ ।’ माया, दया प्रेम, स्नेह र ममताको सागर, ज्ञानबुद्धि र प्रेरणाको मुहान आमाको आशीर्वाद शब्द र व्यवहार दुबैबाट आमाको देहान्त भएपछि विक्षिप्त भएको उनले बताए । धर्ममराएको बेला, लड्खडाएको बेला च्याप्प समाएर स्थिर गरिन् जीवन संगिनी तुलसाले । २०४७ सालमा लगन गाँठो कसेका टंक र तुलसाको जोडी अहिले पनि जोडी ढुकुर झैं रहेको छ ।

उनी भन्छन्– ‘मान्छे कहाँ एक्लै भएर बाँच्न सक्दो रहेछ र परिवारभन्दा पर समाज र संघ–संस्था बिना । मैले कल्पनै गर्न सकिन त्यस्तो । म चुम्बकीय वस्तु जस्तै भएँ समाजरुपी चुम्बकको अगाडि र तानिएँ समाजका विविध पाटामामा जोडिन पुगे । साहित्य चौतारी झापाकै अध्यक्ष भएको दुई कार्यकाल भएका विकल्प, बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको सचिव, साहित्यकार तेराख प्रतिष्ठानको सदस्य, रामजानकी मन्दिर बुधबारेको उपाध्यक्ष, त्रिमुवन मावि होक्सेको सल्लाहकार लगायत दर्जनौ संघ–संस्थासम्म आवद्ध भएर सामाजिक कामलाई अघि बढाइरहेका छन् ।’

भाषा, साहित्य, कला, धर्मसंस्कृति, शिक्षा र पत्रकारिता लगायतका क्षेत्रमा आफूलाई अब्बलरुपमा उभ्याउन सफल विकल्पको सेवाको मूल्याङ्कन गर्दै राष्ट्रिय विकास तथा सम्मान केन्द्र काठमाण्डौं , दमक क्याम्पस साहित्यिक मञ्च, झापा उद्योग वाणिज्य संघ शाखा बुधबारे, होक्से कृषि सहकारी संस्था, बुद्धशान्ति मिडिया प्रालि, लालीगुराँस युवा क्लव, दलित सशक्तिकरण समन्वय समिति, त्रिवेणी नाट्य समूह, लेखनाथ पुस्तकालय झापा, प्रतिभा यात्रा, महानन्द शिक्षा सदन, हातेमालो वचत तथा ऋण सहकारी, ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी, काफ्ले समाज केन्द्रीय समिति, श्रीराम सङ्कीर्तन मण्डली लगायतका दर्जनांै संघ–संस्थाबाट सम्मानित भइसकेका छन् ।

विशेषतः नाटक विधामा आब्बल रुपमा रहेका विकल्पले अब युवा पुस्तालाई सडक नाटक, रेडियो नाटक र स्टेज नाटकको बारेमा ज्ञान दिँदै विकल्पको विकल्प खोजी रहेको बताए । नाटकको तीनै क्षेत्रमा आफूलाई प्रस्तुत गर्न माहिर विकल्पले साहित्य क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । सिने क्षेत्रमा पनि राम्रो अभिनय गर्न सफल विकल्पले झापाको विकलप भने कहिले पनि खोजेनन् । त्यसैले सम्भावना र क्षमताको पहिचान गर्दै आफूलाई निर्खान सकेमा जुनसुकै क्षेत्रमा बसेपनि महत्पूर्ण योगदान दिन सकिने उनको भनाई छ । विकल्पका एक छोरा र एक छोरी रहेका छन् ।

प्रस्तुतिः नरेन्द्र ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *