किसानलाई शुरुमै त्रास
झापा।
उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढ्यै छ भने युवा कृषि क्षेत्रबाट पलायन हँुदैछन् । हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ ।
चालूआर्थिक वर्षको छ महिना (पुस मसान्त) सम्ममा नेपालका वाणिज्य बैंकले ९ दशमलव ६ प्रतिशत कर्जा लगानी गरेका छन् । जबकि नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रका लागि अनिवार्य १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने नीति बनाएको छ ।
बित्तीय संस्थाले राष्ट्र बैंकको नीतिलाई मान्न त परै जाओस्, कृषि ऋणका लागि बैंकमा पुगेका कृषकलाई उपयुक्त धितो लिएर ऋण दिनसम्म झञ्झट दिने गरेको किसानले बताउँदै आएका छन् । बैंकर्स कृषिमा लगानी डुब्लाकी भन्ने चिन्ता राख्छन् ।
माछापुच्छ्र«े बैंक बनेपा शाखाका शाखा प्रबन्धक दीपेन्द्र श्रेष्ठ कृषिमा बिचौलिया हाबी हुँदै गएको, समाजमा किसानको अवस्थामा सुधार र बजारको सुनिश्चितता नदेखिएकाले लगानी डुब्ने चिन्ता स्वभाविक भए पनि राम्रो योजना लिएर आउने किसानलाई आफ्नो बैंकले भने लगानी गर्दै आएको दाबी गरे ।
कृषिविज्ञ कृष्ण पौडेलको भने धारणा अर्कै छ । उनका अनुसार हत्पति वित्तीय संस्था कृषिमा लगानीका लागि किसानसँग जोडिन रुचाउँदैनन् । उत्पादन गर्न समय लाग्छ भन्ने कुरा थाहा भए पनि वित्तीय संस्थालाई लगानी गरेको अर्काे महिना नै किस्ता चाहिन्छ । उत्पादनमा प्रोत्साहित गर्नु र विस्तारै ऋण तिर्दै जानुहोस् भनेर सिकाउने र ऋण लिन उत्साहित गर्ने निकाय नै नभएका कारण कृषि व्यवसायीकरण बन्न नसकेको धारणा राख्छन्– कृषि क्षेत्रका जानकार रामकृष्ण ढकाल ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म आर्थिक कारोवार गर्ने वित्तीय संस्था कूल नौ हजार ३९४ पुगेको छ । यसमध्ये वाणिज्य बैंकको संख्या चार हजार ११, लघुवित्त वित्तीय संस्था तीन हजार ८६१, विकास बैंक एक हजार २९३, वित्त कम्पनी २२९ र पूर्वाधार विकास बैंकको संख्या एक रहेको छ भने ७५३ मध्ये ७४५ स्थानीय तहसम्म बैंक पुगिसकेका छन् ।
प्रायः गाउँ–गाउँमा वित्तीय पहुँच पुगे पनि कृषि क्षेत्रमा लगानी आकर्षण हुन सकेको छैन । सडक पहँुच पुगेका जमिन धितो बन्धक लिएर बैंकले कृषिबाहेकका क्षेत्रमा लगानी बढाउँदै गएका छन् । यद्यपि कृषितर्फको लगानीमा भने आलटाल तथा ढिला र किसानलाई कागजी प्रक्रियाको भारी बोकाउने प्रवृत्तिले गाउँघरका सोझा सिधा किसान बैंकबाट आजित भएका देखिन्छन् ।
उत्पादन प्रक्रियामा अहोरात्र खटिएका किसानलाई व्यावसायिक कृषि कर्म गर्न उत्साहित र ऋण दिन आकर्षण नगर्दासम्म नेपालको कृषिलाई व्यवसायीकरण गर्न सकिन्नँ भन्छन्– धान बाली विशेषज्ञ भोलामान सिंह बस्नेत ।
