May 6, 2026

कोरोना भाइरस : सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी

0

भद्रपुर।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाकासबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत को रोना भाइरसका संक्रमित बिरामी देखा परेपछि प्रशासन कार्यालय झापाले जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई उच्च सतर्कतामा रहन निर्देशन जारी गरेको हो ।

कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई सतर्कमा रहन निर्देशन जारी गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

‘अहिले कोरोना भाइरसले विश्वलाई आतङ्कित बनाएको छ’– प्रमुख जिल्ला अधिकारी राना मगरले भने– ‘झापावासीलाई यस भाइरसबाट जोगाउन हामीले जनचेतनामूलक कार्यक्रम सञ्चालन शुरु गरेका छांै, यसका लागि प्रशासन कार्यालयले एक साताअघि नै सबै सरोकारवाला पक्षसँग यस बारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौं ।’ साथै विभिन्न सामाजिक सञ्जाल, जनचेतनामूलक कार्यक्रम, वेबसाइटको माध्यमबाट पनि प्रचारप्रसारलाई तीव्र बनाइएको उनले बताए ।

विमानस्थलमा परीक्षण कक्ष स्थापना

भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालय परिसरमा बिहीबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ ।

विमानस्थलबाट काठमाडौँ जाने र काठमाडौँबाट फर्किने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको व्यवस्थापन तथा प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको परीक्षक कक्षको एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा पुगेका टोलीले काठमाडौँबाट भद्रपुर आएका बुद्ध एयरका यात्रुलाई चेकजाँच गर्दै परीक्षण कक्षको उद्घाटन गरेका हुन् । विमानस्थलकै प्रवेशद्वारमा स्थापना गरिएको सो कक्षमा स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीलाई चाहिँले आवश्यक स्वास्थ्य सामग्रीसहित ‘थर्मल गन’ पनि दिइएको छ ।

विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने बताइएको छ । विशेष गरी यस बिमानस्थलमा भारत, भुटान, बंगालादेश लगायतका देशबाट यात्रुहरू आउने गरेकोले उनीहरूबाट कोरोना भाइरस नेपाल भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी राना मगरले बताए । साथै विमानस्थलमा बुद्ध एयरलाइन्सले पनि काठमाडौँ जाने यात्रुलाई थर्मल गनको प्रयोग गरी छुट्टै स्वास्थ्य परीक्षण गर्दै आइरहेको जनाइएको छ ।

मास्क लगाएर सेवा

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सरकारी कार्यालयबाट सेवा प्रदान गर्ने कर्मचारीले मुखमा अनिवार्य मास्क लगाएर सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

प्रजिअ मगरले यसको शुरुवात आफ्नै कार्यालयबाट गरिसकेको जनाए । अहिले प्रशासन कार्यालयका हरेक कर्मचारीले सेवाग्राहीलाई मास्क लगाएर सेवा प्रदान गर्दै आइरहेका छन् । कोरोना भाइरसबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने उद्देश्यले अभियान शुरु गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *