सुखानी शहीद स्मृति गोल्डकपको क्वाटरफाइनलमा पारिजात
अर्जुनधारा ।

पारिजात महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा जिल्ला फुटबल संघ पाँचथरलाई ३–१ गोलअन्तरमा पराजित गर्दै पारिजात क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । अर्जुनधारा–९स्थित नमुना खेलमैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा पारिजातकी सुस्मिता लेप्चा, निलु तिर्की र अङ्गिता तामाङको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै, पाँचथरकी फिस्टी राईको प्रहारले मात्र पारिजातको जाली चुमेको थियो ।
खेलको वुमन अफ दी म्याच घोषित पारिजातकी सुस्मिता लेप्चालाई आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले नगद ३ हजारसहित ट्रफी प्रदान गरेका थिए । शुक्रबारको खेल कनकाई नगर खेलकुद विकास समिति झापा र बसाह क्लब उदयपुरबीच हुने बताइएको छ ।
