May 4, 2026

समाचार कक्षको निर्णयमा महिला पत्रकारको सङ्ख्या अझै कम

0

काठमाडौँ, 

समाचार कक्षको निर्णयमा अझै महिला पत्रकारको सङ्ख्या बढ्न नसकेको तथ्य एक अध्ययनले देखाएको छ । क्रियाशील पत्रकार महिलाले ५०० महिला पत्रकारमाझ गरेको अध्ययनमा सात प्रतिशतमात्र सम्पादक रहेको प्रतिवेदन आज आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।

पाँच जनामा दुई जना महिला पत्रकार समाचार सङ्कलन र सम्पादन दुवैतिर काम गरिरहेका छन् । आधाभन्दा बढी अर्थात् ५४ प्रतिशत महिला समाचारदाताका रुपमा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ । करिब तीन जनामा एक जना अर्थात् ३५ प्रतिशत महिला पत्रकार प्रमुख समाचारदाता छन् ।

यसैगरी अध्ययनमा संलग्न रहेकामध्ये ६७.६ प्रतिशत महिलाले महिला तथा बालबालिका ‘बिट’ मन पराउने गरेका छन् । यसैगरी ४१.२ प्रतिशतले शिक्षा र २८.७ प्रतिशतले स्वास्थ्य बिट छानेका छन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अनुसन्धानले महिला पत्रकारका विषयमा प्रामाणिक दस्तावेज ल्याएको बताउनुभयो ।

“प्रतिवेदनमा सुधार भएको भन्ने छ, त्यसलाई पहिलेको तथ्याङ्कसँग तुलना गरिनुपथ्र्यो, आयोगले पनि सूचनाको हक प्रयोग गर्ने महिलाको अध्ययन गर्दैछ, महिला पत्रकार सूचनाको हक प्रयोग गर्न अग्रसर हुनुपर्छ”, उहाँले भन्नुभयो । महिला पत्रकारको क्षमता विकासमा सूचनाको हकले पनि सहयोग गर्ने प्रमुख आयुक्त गुरुङको विश्वास थियो । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले महिला पत्रकारले बिट छान्दा जोखिम मोल्नुपर्ने विषयमा नजाने गरेका बताउनुभयो ।

“महिलाले नेतृत्व गरेका सञ्चारमाध्यमले आचार संहिता कम उल्लङ्घन गरेका छन्, महिला सम्पादक हुँदा सहुलियत पाइने भएकाले नाम राखेर काम पुरुषले गर्ने गरेको पनि भेटियो, यस्ता सञ्चारमाध्यमले आचारसंहिताविपरीत काम गरेका बेला काउन्सिलमा बोलाउँदा ती पुरुषलाई समेत लिएर आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो । काउन्सिलले हालै महिलामैत्री आचारसंहिता जारी गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले सुनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले प्रतिवेदनलाई आधिकारिकरुपमा स्वीकार गर्ने बताउनुभयो । “प्रतिवेदनले मार्गनिर्देश गरेअनुसार कमीकमजोरीलाई अन्त्य गरिनुपर्छ, दस्तावेजलाई महासङ्घले महत्वपूर्ण सम्पत्तिका रुपमा ग्रहण गर्छ”, उहाँले भन्नुभयो । राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले पत्रकारितामा बिट राम्रो र नराम्रो भन्नु तथा मन्त्री एवं सचिवले मन्त्रालय राम्रो वा नराम्रो भन्नु उस्तै भएको बताउनुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमगतरुपमा महिला पत्रकारको अवस्थाका बारेमा पनि अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । सञ्चारमाध्यममा लैङ्गिक निर्देशिका जारी गर्न आफू महासङ्घ अध्यक्ष भएका बेला शुरु गरिएकाले केही समयमै लागू हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार श्री आचार्यले अनुसन्धानबाट आएका तथ्यका विषयमा सञ्चारगृहसँग पनि छलफल गरिनुपर्ने बताउनुभयो । पत्रकारिता मात्र नभई जुनसुकै काम गर्न महिलाका लागि अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो । क्रियाशील पत्रकार महिलाकी संस्थापक अध्यक्ष सङ्गीता लामाले सक्षम महिला पत्रकारको सङ्ख्या बढाउने उद्देश्यले अध्ययन गरिएको जानकारी गराउनुभयो । महिलालाई मुख्य भनिएका बिटमा समाचार सङ्कलन गर्न नदिनुका कारण आफैँभित्र केलाउनुपर्ने उहाँको भनाइ थियो ।

अनुसन्धाता योगेन्द्र नापितले अध्ययनका बेला सहभागी महिला पत्रकार र उपलब्ध सामग्रीको विश्लेषण गरी प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो । पैतालीस जिल्लाका ५०० पत्रकारमा अनुसन्धान गरिएको थियो । कार्यक्रममा कम्युनिकेसन कर्नरकी निर्देशक मन्टेश्वरी राजभण्डारी, सञ्चारिका समूहकी सचिव यशोदा अधिकारी लगायतले महिला पत्रकारको क्षमता विकासका लागि तालीमलगायत कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *