३४० जनालाई निःशुल्क सेवा
भद्रपुर।
मजदुर तथा विपन्न परिवारका मानिसको स्वास्थ्यलाई मध्यनजर गरी ज्यामिरगढी स्वास्थ्य चौकीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ४० जनाले सेवा लिएका छन् ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय संस्था रोटरी क्लव अफ भद्रपुर र रोट्रयाक्ट क्लव भद्रपुरको संयुक्त आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर र सनराइज बैक शाखा कार्यालय भद्रपुरको सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
मेचीनगर–१५स्थित ज्यामिरगढीबासीलाई विशेषज्ञ डाक्टर सहितको टोलीले शिविरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । शिविरमा बाल रोग, शल्य चिकित्सा, छाला यौन तथा कुष्ठरोग, नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसन, प्रसूति तथा महिला, मुत्र रोग, रेडियोलोजी तथा मानसिक रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए ।
रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकालको अध्यक्षता तथा मेचीनगर–१५का वडा अध्यक्ष गुणराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सनराइज बैंक भद्रपुरका भीषण निरौला, ज्यामिरगढी स्वास्थ्य चौकीका प्रमुख दिवाकर पौडेल लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य रोटरीका पूर्वअध्यक्ष किशोर पराजुलीले राखेको कार्यक्रमको सञ्चालन ईश्वर अधिकारीले गरेका थिए ।
