राजगढमा पद्म महापुराण शुरु
बिर्तामोड ।

बाह्रदशी गााउँपालिका – ३ राजगढमा रहेको शिवालय तथा राधाकृष्ण मन्दिरमा सोमवारबाट श्रीमद् पद्म महापुराण शुरु भएको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने महायज्ञमा विदुषी परमयोगीनी वृन्दाबनी दासी (श्रीहम्) भू – तपश्वीले कथा वाचन र पं.गोपाल भट्टराई, राजु पोखरेल, र प्रशान्त अधिकारीले पाठ पारायण गर्ने गरिरहेका छन् । महायज्ञको उद्घाटन समाजसेवी युवा व्यक्तित्व नवीन पोखरेलले गरेका छन् । महायज्ञको उद्घाटन गर्दै पोखरेलले पाश्चात्य संस्कृतिको प्रभाव परिरहेको अवस्थामा धर्म,संस्कार र संस्कृतिको संरक्षणमा वाह्रदशीवासीले देखाएको कार्यको प्रशंसा गरेका छन् । उनले महायज्ञमा नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
२०६५ सालमा स्थापना भएको राधाकृष्ण मन्दिरलाई शक्ति पीठका रुपमा विकास गरेर लाने उद्देश्य सहित आयोजित महायज्ञमा विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओली, मूत्र्तिदाता पार्वती पोखरेल, व्यवास निर्माता लक्ष्मी– होमादेवी मिश्र, शिक्षा सेवी गंगाप्रसाद अधिकारी, नन्दकुमार कुँवर, ध्रुुवकुमार पोखरेल,वाह्रदशी गाउँपालिकाका कर्मचारीहरु तेजप्रसाद रेग्मी, चेतनाथ न्यौपाने, घनेन्द्र ढकाल लगायतले महायज्ञ सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष रमेशप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्दिर व्यवस्थापन समिति सचिव थीरकुमार दाहालले गरेका थिए । कार्यक्रममो सञ्चालन मन्दिरका लेखा समितिका संयोजक लोचनकुमार गुरागाईले गरेका थिए ।
हरेक वर्ष एक÷एक वटा धार्मिक महायज्ञको आयोजना गरिदै आएको र १८ वटा महायज्ञ सम्पन्न गरेसंगै धार्मिक शक्ति पीठ हुने बताइएको छ । हालसम्म मन्दिरमा १२ वटा महायज्ञ सम्पन्न भइसकेका छन् । दक्षिण क्षेत्रकै आस्थाको केन्द्रका रुपमा रहेको शिवालय तथा राधाकृष्ण मन्दिरलाई लिने गरिएको छ ।
यस अघि मन्दिर परिसरमा निर्माण गरिएको पण्डाल भवनको उद्घाटन गरिएको थियो । पण्डालको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यष खड्गप्रसाद राजवंशीले गरेका थिए । ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पण्डाललाई आगामी दिनमा सामुदायिक भवनका रुपमा विकास गरेर लाने र भवन तीन तले हुने मन्दिर व्यवस्थापन समितिका सविच दाहालले जानकारी दिए ।
