October 9, 2026

चार सय गर्भवतीलाई पोषण उपहार

0

लम्की,

कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो ।

गाउँपालिकाले हरेक महिलालाई पोषण उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार प्रदान गरेको छ । अमरावतीकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्यमा ख्याल गर्न सन्देश दिएको बताउनुभयो । ‘‘पोषण उपहारसँगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु र खानपानबारे समेत जानकारी पायौँ”, चौधरीले भन्नुभयो, “यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।”

वन्देविपुरकी रीता विष्ट पनि गर्भवती हुनुहुन्छ । उहाँसँगै कोसेली बुझ्न उहाँका श्रीमान् पनि साथमा आउनुभएको थियो । “मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाएँ ।” रीताका श्रीमान् रमेश विष्टले भन्नुभयो, “अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनलाई चाहिने आराम, वातावरणबारे पनि सचेत हुन आवश्यक रहेछ ।”

गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउनाका साथै मातृशिशु मृत्युदर घटाउन सहयोग पुगोस् भनी कोसेली कार्यक्रम शुरु गरेको हो । गाउँपालिकाले कोसेली वितरणका लागि रु सात लाख विनियोजन गरेको छ । गाउँपालिकाले दुई चरणमा कोसेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन महिनामा र दोस्रो चरणमा जेठ मसान्तमा कोसेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्, जसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ”, अध्यक्ष चौधरी भन्नुहुन्छ, “सचेतना फैलाउने उद्देश्यका साथ कोसेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर महिला र तिनका परिवार सचेत हुन सक्छन् ।”

जन्मिने बच्चालाई स्वस्थ बनाउन पोषण उपहार कार्यक्रम सहयोगी हुने उपाध्यक्ष उमा महतोले बताउनुभयो । “हाम्रो समाजमा गरिबी छ । बुहारीले घरका सबैले खाना खाएपछि खाने चलन छ । अन्त्यमा खाने बुहारीलाई खाना नपुगे उनीहरु भोकै बस्छन्”, उपाध्यक्ष महत्तो भन्नुहुन्छ, “अनि कसरी पोषणमा सुधार आउँछ । धेरै महिलामा रक्तअल्पत्ताको समस्या देखिन्छ, बच्चा जन्माउँदा रगत आवश्यक पर्छ । त्यसकारण यो अभियान थालिएको हो ।”

उपाध्यक्ष महतोले महिलालाई गर्भावस्थामा विशेष ध्यान दिन सचेतनासमेत फैलाउन थालिएको बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँचमा आएका महिलालाई मात्र यो कोसेली दिने गरेको छ । स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले नियमित गर्भजाँच गर्ने बानीको विकास गर्नका लागि पनि कोसेलीले सघाउने बताउनुभयो । “गर्भावस्थामा महिलाले पटकपटक खानेकुरा खाने, सरसफाइमा ध्यान दिने, आराम गर्ने, मानसिक थकान कम गर्ने जस्ता कुराहरु पनि सिकाउन थालेका छौँ”, स्वास्थ्य शाखाप्रमुख चौधरी भन्नुहुन्छ, “यो अवस्थामा गर्भवती खुशी हुन नसकेमा त्यसको असर बच्चामा पनि पर्छ । महिला र तिनका परिवारले विशेष ख्याल गर्नुपर्छ ।” गाउँटोलमा कोसेली कार्यक्रमबारे महिला स्वास्थ्य स्वयम्सेविकाले जानकारी दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *