दादुरा रुबेला खोप अभियानमा सहभागी हुन नगरप्रमुखको नगरवासीमा आग्रह
काँकरभिट्टा,

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शनिबारदेखि शुरु हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह गर्नुभएको छ ।
शुक्रबार मेचीनगर नगरपालिका स्वास्थ्य शाखा, झापाले नगरपालिकाको सभाहलमा आयोजना गरेको नगरपालिका स्तरीय अभिमुखिकरण एवम् अन्तरक्रियामा बोल्दैं प्रमुख आचार्यले उक्त कुरा बताउनुभएको हो ।
खोप पाउनु हरेक वालवालिकाको नैसर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराएर खोप लगाउनु मुख्य कर्तव्य भएको नगरप्रमुख आचार्यको भनाई थियो । फागुन १० देखि १८ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानमा नगरका १५ वटैवडाका ९ महिनादेखि ५ वर्षमुनिका ९ हजार ५ सय ४० जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने शाखाले जनाएको छ ।
यसैगरी अभियानको क्रममा नगरभरिका जन्मेदेखि ५ बर्षमुनिका ११ हजार ६ सय ३६ जना लक्षित बालबालिकालाई पोलियो थोपा समेत खुवाउने शाखाका सहसंयोजक रामनारायण यादवले जानकारी गराउनुभयो ।
प्रमुख आचार्यले दादुरा रुबेला खोपका लागि ९ महिनादेखि ५ वर्षमुनिका तथा पोलियो खोपकालागि जन्मेदेखि ५ बर्षमुनिका बालबालिका लक्षित समूह भएकाले हरेक नगरवासीहरुले ती लक्षित समुदायलाई नजीकको खोपकेन्द्रसम्म पुर्याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
अहिले बजारमा जसरी खोपका बारेमा नकरात्मक प्रचारहरु आइरहेका छन् त्यसको पछि नलागेर सवैले आफ्ना बालबालिकालाई समयमै खोपकेन्द्रमा लगेर खोप लगाउन समेत आग्रह गर्नुभयो । चेतना र शिक्षा अभावका कारण अहिले पनि खोपलिनबाट धेरै बालबालिका बञ्चित भएकाले स्वास्थ्यकर्मीले सवै समुदायमा शिक्षा र चेतनामुलक कार्यक्रम लैजान सुझाव दिनुभयो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा शाखा सह संयोजक यादवले दादुरा रोगका जटिलता, कार्यक्रमको अपेक्षित लक्ष्य, उद्देश्य, दादुरा रुबेला रोगको परिचय पृष्ठभूमि, अवस्था र अभियानको औचित्य, दादुरा रोगको परिचय, सर्ने तरीका, लक्षण् र चिन्हहरु, रोगको उपचार तथा बच्ने उपाय रोग सर्ने तरीका, रुबेला रोग लागेमा हुने जटिलताका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा धुलावारी माविका प्रधानध्यापक महेन्द्रविलास लुइटेल, १४ नम्बर वडाका वडाध्यक्ष शंकरप्रसाद पोखरेल, सवस्थ्यकर्मि दिवारक पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मि दीपेन्द्र चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख आचार्य संयोजक तथा उपप्रमुख उप्रेती सहसंयोजक रहने गरी नगरस्तरीय खोप समन्वय समिति गठन गरिएको छ । समितिमा नगरका सवै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, सरकारी कार्यालयका प्रमुख, नगरपालिकाको शिक्षा शाखा प्रमुख , नगरपालिकाका प्रेस संयोजक, नगरपालिकाक्षेत्रका स्वास्थ्य केन्द्रका प्रमुखहरु, महिला स्वास्थ्य स्वय्म सेविका मध्येबाट १ जना, महिला विकास विद्यलायका प्रधानध्यापकहरुमध्येबाट१ विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्येबाट १ जना सदस्य रहने निर्देशिकामा उल्लेख छ ।

सुचना एवम सन्चारका लागि प्रेस संयोजक ज्युलाई धेरै धेरै धन्यवाद…! यसै गरि आम जनतामा सञ्चार पुगोस….!!