October 10, 2026

किशोरीको शव शंकास्पद अवस्थामा

0

भद्रपुर।

दक्षिणी झापाको कचनकवलमा एक किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । उनको शव शङ्कास्पद अवस्थामा भेटिएको हो ।

कचनकवल गाउँपालिका–२ स्थित झापा हर्दसभिट्टा गाउँमा बस्ने १४ बर्षीया विष्णुमाया कार्की झुण्डिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६मा अध्ययनरत् किशोरी कार्कीको शव झुण्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र देखेका थिए ।

बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको स्थानीय बताउँछन् । ‘तीन दिनअघि घरबाट हिँडेकी कार्कीको शव चिया बगानको नाला नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो’– प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने– ‘उनले आत्महत्या गरेको हो वा हत्या भएको यस विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

किशोरीको शव कुहिने अवस्थामा पुगिसकेको थियो, घरबाट हराएको दिन नै उनको मृत्यु भएको हुन सक्छ– उनले भने । शरीरमा त्यस्तो कुनै चोटपटक फेला नपरेको उनको भनाइ छ ।

‘झुण्डिएको अवस्थामा उनको शव फेला परेको थाहा पाए लगतै बिएण्डसीका अस्पतालका कानूनी चिकित्सक डा. अर्चना चौधरीसहितको डीएसपी नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको हो’– प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने– घटनास्थल हेर्दा शङ्कास्पद देखिए पनि त्यस्तो केही तथ्य प्रमाण भेटिएको छैन ।

‘शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका छौं, चिकित्सकले पोस्टमार्टमको रिपोर्ट पठाएको छैन, रिपोर्ट आएपछि केही भन्न सकिन्छ’– प्रहरी उपरीक्षक कोइरालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *