श्रमको सम्मान गर्नुपर्छ
सम्पादकीय
दृढ इच्छा, लगनशीलता, परिश्रम र निष्ठासहितको कर्मले मानिसलाई बलियो र आत्मनिर्भर बनाउँछ । त्यसमा पनि अर्जुनदृष्टिले गरिए जुनसुकै र जस्तासुकै कामले पनि मानिस अस्तित्वपूर्ण जीवन बाँच्न सक्छ । त्यही भएर भनिएको पनि छ कर्मठताले ढुङ्गामा पनि सृजना गर्न सकिन्छ । यस्तै उदाहरण बनिएका छन् झापा बुद्धशान्ति–१ होक्सेका ६२ वर्षीय वीरबहादुर रसाइली । उनी आफ्नो पुख्र्र्याैली पेशाको माध्यमबाट बाँचेका मात्र छैनन्, एक उदाहरणीय प्रतिभा समेत ठहरिएका छन् । झण्डै तीन दशकअघि पुख्र्यौंली थलो पूर्वोत्तर जिल्ला ताप्लेजुङबाट बसाइँ सरेर आएका उनी आज पर्यन्त जातीय पेशामा रमाइरहेका छन् ।
भनिन्छ, ‘माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो’ । यो भनाइको सार्थकता वीरबहादुरको कर्मले पुष्टि गरेको छ । हिजोआज राजनीतिक दलहरुले जाति विभाजनको सस्तो तर्क गरेर स्वार्थको राजनीति गरिरहेका छन् । त्यसकै बुई चढेर पद, प्रतिष्ठा र स्वार्थ पूरा गर्ने दाउमा जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विषय उठाएका छन् । जसका कारण युगौंदेखि नेपालीका बीचमा रहेको सद्भाव, सहिष्णुता, समभाव र श्रम विभाजनको विशिष्टता सङ्कटमा पर्दैछ । यसले पुख्र्यौली पेशा, कर्म, पहिरन, संस्कार, संस्कृति, धर्म, मूल्य र मान्यता लोप हुने अवस्थामा पुगेका छन् । नेपालीको विशिष्टताका रुपमा रहेका यी मौलिक पहिचानलाई जोगाउन नसकिए न नेपाली जाति रहन्छ न त पुर्खाको गौरव नै ।
वीरबहादुरले पुख्र्यौली पेशा अनुसार नै आरनबाट घरेलु हतियार बनाएर परिवारलाई राम्ररी पालेका छन् । महिनामा पचास हजारभन्दा बढी कमाउने सक्ने उनको जोश, जाँगर, सिप, क्षमता र परम्पराप्रतिको निष्ठालाई सम्मान गर्नैपर्छ । ‘मानिस कर्मले ठूलो हुन्छ’ यो उनकै व्यवहारले प्रमाणित गरेको छ । अर्काको माटोमा, पसिना र रगत बनाउन ‘मरिहत्ते’ गर्ने आजका युवावर्गको पराधीन मानसिकतालाई वीरबहादुरको सेवाले बदल्न सक्यो भने ठूलो उपलब्धि ठहरिने छ । हिजोआज पुख्र्यौली पेशा, रहन–सहन, भेषभुषा, रितिथिति र संस्कृति क्रमशः विलयको स्थितिमा पुगेको छ । उनकै छोरा पनि बाबुको कर्मलाई उदाहरण मान्न तयार छैनन् जबकि वीरबहादुरलाई भ्याई÷नभ्याई छ माग पूरा गर्न । व्यावहारिक जीवनमा नभई नहुने यस्ता अनेक कर्महरु छन् जसलाई पूरा गर्न भारतीयहरुको भीड लाग्न थालेको छ ।
बगरमा पनि अन्नरुपी सृजना गर्न सकिन्छ । तर, त्यसका लागि वीरबहादुरकै जस्तो सेवा र समर्पण चाहिन्छ । हाम्रा युवा विदेशको कष्टपूर्ण जीवनलाई साध्य मानेर पलायन भइरहेका छन् प्रत्येक दिन । त्यही भीडमा केही वीरबहादुरहरु आफ्नै माटोको सुवासमा रमाइरहेका छन् । उनी स्थानीयबासीको नित्यकर्ममा पूरक भइरहेका छन्, जसको अभावमा सृजना रोकिन सक्छ । त्यसैले आरनमा बस्दैमा होचो वा सानो हुइँने होइन, सबैले आत्मबोध गर्नुपर्छ । मानव एकअर्काका पूरक हुन्छन्, यही पारस्परिक एकता, सहकार्य, सहिष्णुता र सद्भावले सबै आवश्यकता पनि पूरा हुन्छन् । त्यहीकारण पनि वीरबहादुरको जीवनचर्याबाट सिकेर प्रत्येकले आफ्नो जीवनमा उपयोग गर्ने हो भने युवा वर्गको पलायन रोकिने छ । यो सँगै बढ्दो सामाजिक समस्याको पनि समाधान भई शान्त र समृद्ध समाज निर्माण हुनेछ । त्यसैले उदाहरणीय वीरबहादुर अनुकरणीय पनि बनून् – शुभकामना ।
