दादुरा–रुबेला खोप अभियान झापामा फागुन १०बाट
बिर्तामोड।

नेपालमा ५ वर्षमुनिका २२ प्रतिशत बालबालिका दादुरा–रुबेला जस्ता संक्रामक रोगको उच्च जोखिममा रहेको बताइएको छ । छिट्टै महामारीको रुप लिने यी रोग बालबालिकालाई नियमित खोपको मात्रा पूर्ण रुपमा नलगाउँदा जोखिम बढेको बताइन्छ ।
मुलुकमा पूर्ण खोप लिने बालबालिका ७८ प्रतिशत, आंशिक खोप लिने २१ प्रतिशत र खोप नलगाउने बालबालिका एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेल बताउँछन् । आंशिक र शून्य खोपको मात्रालाई पूर्ण खोप कभरेजको अवस्थामा पुर्याउने योजनाका साथ सरकारले कार्यक्रम अघि बढाएको पौडेलले बताए । जनचेतनाको कमी, बसाइँसराइ लगायतका कारण बालबालिका खोपबाट वञ्चित हुने गरेको बताइन्छ ।
बालबालिकाको मृत्युदर घटाउन र रोगीको संख्या नियन्त्रण गर्न झापामा दुई चरणमा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय झापाले मंगलबार बिर्तामोडको कनकाई हस्पिटलमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा जानकारी दिइयो ।
स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाँईका अनुसार जिल्लाको गौरादहमा ९, वैगुनधुरामा केही महिना अघि चार जनामा दादुराको संक्रमण देखिएको थियो । सन् २०१९मा नेपालमा ३६६ जना दादुरा र २९ जना रुबेलाका रोगी फेला परेका थिए । प्रदेश १मा दादुराका ३२ र रुबेलाका ७ रोगी छन् । फागुन १० गते चन्द्रगढीबाट शुरु हुने खोप अभियान २० गतेसम्म माई पूर्व र २१ गतेबाट ३० गतेसम्म माई पश्चिम क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य कार्यालयका बालकृष्ण भण्डारीले जानकारी दिए ।
अभियान अन्तर्गत झापामा ९२ हजार ८९१ जना बालबालिकालाई पोलियो थोपा खुवाइनेछ भने ९ महिनादेखि ५९ महिनासम्मका ७८ हजार २ जना बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप दिइनेछ ।
सरकारले सन् २०१९मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर, यो लक्ष्य हासिल हुन नसके पछि २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने लक्ष्य सरकारको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान २०७६ शुरु हुँदैछ । अभियान दुई चरणमा हुने परिवार कल्याण महाशाखाले जनाएको छ ।
यसअघि मंसीरमा अभियान सञ्चालन गर्ने लक्ष्य भए पनि यसका लागि अनुदान दिने संस्थाले अनुदान रोकेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो । दादुरा र रुवेला खोप अभियान सन् २००४ बाट शुरुवात गरिएको हो । त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६मा सञ्चालन भइसकेको छ ।
देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने छ । पहिलो चरण अन्तर्गत फागुन महिनामा प्रदेश नम्बर १, २ र ५का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप लगाइने छ । दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने उद्देश्य छ ।
झापादेखि कञ्चनपुरसम्मका १८ जिल्ला (चितवन र नवलपरासी बाहेक) का बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने छ । जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइने बताइएको छ । नेपालमा पोलियोको शून्य अवस्था छ । सन् २०१० देखि पोलियो रोगको नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको हो । पछिल्लो समय दाङ, मोरङ, कपिलवस्तु लगायतका जिल्लामा दादुराको महामारी फैलिएको थियो ।
सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कार्यक्रममा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँबाट खोजेर बालबालिकालाई खोप दिइने छ । पछिल्लो समय देशका विभिन्न भागमा दादुराको महामारी फैलिरहेको छ भने संक्रमित अधिकांश बालबालिकाले दादुराको खोप नै पाएका छैनन् ।
दादुराबाट बच्न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्छ । अहिले करिब ७० प्रतिशत बालबालिकासम्म दादुरा विरुद्धको खोपको पहिलो मात्राको पहुँच पुगेको छ । दोस्रो मात्रा लिने बालबालिका ६७ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । दादुराको खोप पहुँच पनि ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । सरकारले अभियानले दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । यसका लागि नियमित र विशेष खोप सबै बालबालिकाले अनिवार्य लिनुपर्ने हुन्छ ।
मुख्य गरी पाँचबर्ष मुनिका बालबालिकामा ज्वरो आउने र ज्वरो आए पश्चात शरीरभरी रातो स–सानो विँविरा देखिने दादुरा रोगबाट अन्धोपना, पखाला, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण हुनसक्ने, कम्पन र विभिन्न जटिलताबाट बालबालिकाको मृत्यु नै हुनसक्ने जोखिम रहने खोप अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए ।
हावाको माध्यमबाट सर्ने यो रोगको संक्रमण दर समेत उच्च छ । यसैगरी रुवेलाको संक्रमणबाट हाडजोर्नीहरु सुन्निने तथा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै विकलाङ्ग हुनसक्ने, रक्तस्राव आदि समस्या देखिने बताइन्छ ।
अत्यन्तै संक्रामक मानिएको दादुरा तथा रुवेला रोगको खास उपचार नभएका कारण रोग लाग्नेवित्तिकै अरुलाई सर्नबाट बिरामीलाई अलग्गै राख्ने र स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार गर्न चिकित्सकको सुझाव छ ।
