October 14, 2026

नक्कली परीक्षार्थीमार्फत कोरिया गएका नेपाली पक्राउ

0

इलाम।

पछिल्लो समय वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्दै गरेको दक्षिण कोरियामा नक्कली परीक्षार्थी मार्फत (इपिएस)भाषा परीक्षा पास गरी त्यहाँ पुगेका नेपालीलाई कोरियाली सरकारले पक्राउ गर्न थालेको छ ।

हालसम्म एक सय जनाभन्दा बढी नेपाली पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको कोरियाली अध्यागमन कार्यालयले जनाएको छ । दक्षिण कोरियामा काम गर्न कठिन भएता पनि सोचे जस्तो आर्थिक उन्नति हुने भन्दै देशभरका युवायुवती कोरिया जाने होडबाजीमा जुर्मुराए सँगै यो प्रक्रियाबाट जान खोज्नेहरु निराश बन्दै गएका छन् ।

आफ्नो थोरै अनुभव भएकाहरु पास भएको खण्डमा मोटो रकम दिने शर्तमा अनुहार मिल्ने व्यक्तिलाई परीक्षा लेखाएर धेरै जना कोरिया जाने गरेको सूचनाको आधारमा अध्यागमन विभागले यस्तो अभियान शुरु गरेको बताइएको छ । अहिले त्यहाँ पुगेका नेपाली मात्रै होइन यस प्रक्रियाबाट जाने तयारी भएका समेत अफ्ठ्यारोमा परेका छन् ।

तीन वर्ष पहिला कोरिया पुगेका नेपालीदेखि भर्खरै तीन महिनाअघि गएका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर तथा पश्चिम म्याग्दी लगायतका जिल्लाबाट जानेहरु पक्राउ परेको प्रवासी श्रमिक संगठन(एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिए ।

कोरियाको आन्तरिक सुरक्षामा खतरा पुग्ने सम्भावना रहेको उल्लेख गर्दै यस किसिमको गतिविधिमा संलग्न व्यक्तिहरुलाई नेपाल पठाउने मात्रै नभई विभिन्न सुरक्षा सम्बन्धी मुद्दा चलाई अनुसन्धान अगाडि बढाएको अध्यागमन कार्यालयले जनाएको छ ।

यसरी पक्राउ पर्ने कतिपयलाई अदालती प्रक्रिया बढाएर छ महिनासम्म थुनामा राखेको उनले बताए । उनले यस पद्धतिबाट कोरिया जाने धेरै नेपाली आर्थिक र मानसिक दुवै पक्षमा पीडित भएको पाइएकोले यसो नगर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *