October 18, 2026

सम्पादकीय

आयातित वस्तुले पूर्वेली समाज छपक्कै छोपिन थालेको छ । भाषा, भुषा, रहनसहन, जीवन पद्धति, संस्कार अनि संस्कृतिलाई छोप्दै र थिच्दै लाने पश्चिमा समाजको अनुकरण गर्ने होडले नेपाली समाज मौलिकताबाट विश्रृंखलित भइरहेको छ । त्यसको उदाहरण जन्मदेखि मृत्युपर्यन्तका संस्कार, संस्कृति र पद्धतिमा देखिन थालेको छ । जन्म पूर्वदेखि नै हाम्रा सांस्कृतिक मूल्य र मान्यताहरु ‘देखासिकी’ मै साटिँदै गएका छन् । जन्मोत्सव मनाउने होस् वा खुशियाली बाँड्ने अथवा चाडपर्व मान्ने पूर्वीय संस्कृतिको आफ्नो छुट्टै महत्व छ । तर, हामी हाम्रो गौरवपूर्ण सांस्कृतिक पहिचानलाई बिर्सिएर स्वयम् परिचयविहीन बन्दै जाँदैछौं । जसका कारण आफू न पूर्वीय रहन सक्ने भयौं न त पश्चिमा समाजले स्वीकार गर्ने जातिका रुपमा हुने भयौं ।

हाम्रा आफ्ना सांस्कृतिक उत्सवहरु छन्, जसको ऐतिहासिकता, मूल्य, मान्यता र विशिष्टतालाई जोगाएर प्रतिष्ठित हुन सक्छौं । जन्मदिन मनाउने मौलिक र विशिष्ट पद्धतिलाई त्यागेर ‘बर्थ डे’, ‘क्रिसमस–डे’ अथवा भ्यालेन्टाइन–डे मनाउँदा न पूर्वीय मौलिकताको रक्षा हुन्छ न त हाम्रो जीवनस्तरमा सुधार नै आउँछ । यस्तो अवस्थाले न जातीय गौरव जोगाउन सकिन्छ न त पूर्वजहरुप्रति सम्मान गरेको ठहरिन्छ ।

नेपाली समाज यसबेला ‘कुहिरोमा हराएको काग’ सरह भएको छ । उद्देश्य र गन्तव्यविहीन भएर युवापुस्ता मन, मस्तिष्क रव्यवहारले अलमलिएको छ । यस्तोमा आफू र आफ्नोपनलाई चिन्न सक्ने क्षमता आफैंमा पलाएन भने न खोला पारि पुग्न सकिन्छ न त चौतारीले नै आश्रय दिन्छ । यही समय भ्यालेन्टाइन–डे काम नाममा धेरै युवावर्गलाई आजको दिनले लोभ्याउन थालेको छ । नेपालीकरण गर्दै प्रणय दिवस भनिने यस दिनका लागि लाखौंको व्यापार हुने गरेको सन्दर्भले पनि हाम्रा प्रेम र आदर्शका प्रतीकहरुको अवमूल्यन गरिरहेको छ ।

संसार एकापसको प्रेस र हार्दिकताले बाँधिएको छ । प्रेम निश्छल भाव हो जो हृदयान्तरबाट निश्रृत हुन्छ । यो भाव कुनै शर्त, स्वार्थ र संकीर्णताभित्र अटाउँदैन। यसलाई प्राप्त गर्न कुनै दिन पर्खिनु पनि पर्दैन । स्वस्फूर्त उत्पन्न हुने प्रेमरसको माधुर्यबाट विश्वका सबै प्राणी नै आलोकित छन् र हुन्छन् । त्यहीकारण प्रेम पाउन वा दिनकै लागि कुनै दिन रोज्नुपर्ने सङ्कुचित सीमाबाट बाहिर स्वच्छन्द र स्वतन्त्र विचरण गर्ने प्रेमभावलाई अनुभूत गर्न सकौं । कागले मयुरको प्वाँख लगाउँदैमा मयुर हुन नसक्ने सत्यलाई अनुभूत गरौं । स्वधर्म, स्वसंस्कृति र स्वपरम्पराको पालना गरौं र जातीय गौरवको रक्षा गर्दै मौलिकताको अनुशरण गरौं, यसमै हाम्रो विशिष्टता सुरक्षित हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *