October 21, 2026

अपाङ्गता भएकाहरु अधिकारबाट बञ्चित !

0

बिर्तामोड।

नेपालको पछिल्लो राष्ट्रिय जनगणना अनुसार अपाङ्गता भएका व्यक्तिको संख्या करिव २ प्रतिशत छ । यद्यपि अपाङ्गता भएका व्यक्तिको वारेमा अहिलेसम्म पनि अध्ययन अनुसन्धान नहुँदा यकिन तथ्याङ्क भने सार्वजनिक भएको छैन ।

अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकारलाई सुरक्षित गर्न नेपाल सरकारले अपाङ्गता अधिकार ऐन २०७४ जारी गरे पनि व्यवहारमा लागू नहुँदा अपाङ्गता भएका व्यक्तिहरु अझैं पनि अधिकारबाट बञ्चित हुनु परेको अधिकारकर्मी अनिता सिग्देलले बताइन् ।

अझ यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका विषयमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच ज्याँदै न्यून रहेको बताइएको छ । सरकारले जनताको यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धता जनाए पनि अपाङ्गता भएका व्यक्तिहरु यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा अझैं पनि अनभिज्ञ रहेको अधिकारकर्मी सिग्देल बताउँछिन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४मा यौन तथा प्रजनन् स्वास्थ्य, अधिकार र परिवार नियोजन सम्वन्धी प्रावधानहरु प्रष्ट रुपमा व्यवस्था नगरिएको, अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका क्षेत्रमा काम गर्दै आएकी सरोजा श्रेष्ठको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिहरुको मौलिक अधिकारलाई राज्य, समाज र परिवारले पनि प्रायः उपेक्षा गर्ने गरेको पाइन्छ । अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलाई सम्वोधन गर्ने सवालमा अझै पनि भेदभाव गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेल बताउँछन् ।

गाँस, बास, कपासपछि सहवास पनि मानिसको मौलिक अधिकारभित्र पर्ने भएकाले राज्य संयन्त्रले स्थानीय तहबाटै अपाङ्गता भएका व्यक्तिहरुको सम्मानका लागि हरेक क्षेत्रलाई अपाङ्गमैत्री बनाउनुपर्ने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको भनाइ छ । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन भौतिक संरचना समेत अपाङ्गमैत्री हुनुपर्ने कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत ब्रजेश मेहेताको भनाइ छ ।

सन् २०१९मा नेपालमा परिवार नियोजनका आधुनिक साधनको प्रयोग ६ लाख २२ हजार जनाले गरेको सरकारी तथ्याङ्क रहेको बताइन्छ । त्यसमा अपाङ्गता भएका कति मानिसले परिवार नियोजनका साधन प्रयोग गरेका छन् त्यसको यकिन तथ्याङ्क कुनै निकायसंग नरहेको बताइएको छ । तर, अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन्का विषयमा जानकारी गराउने उद्देश्यले झापाको बिर्तामोडमा एक दिवसीय कार्यशाला सम्पन्न भएको छ ।

१५ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई राखेर सो विषयमा जानकारी गराइएको थियो । नेत्रहीन युवा संघ नेपालको आयोजना र नेपाल नेत्रहीन युवा संघ झापाको समन्वयमा भएको कार्यक्रम यौन तथा प्रजनन् स्वास्थ्य तथा परिवार नियोजन सम्वन्धी परियोजनाले सहयोग पु¥याएको नेपाल नेत्रहीन युवा संघकी केन्द्रीय सदस्य सरिता दाहालले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *