September 23, 2026

एकै ठाउँमा सात जातिका घर

0

दमौली, 

विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् ।

व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो । महोत्सव घुम्न आउने सर्वसाधारणलाई जनजातिको रीतिरिवाज र संस्कृतिबारे जानकारी प्रदान गर्न नमूना घर निर्माण गरिएका उहाँले बताउनुभयो । घर्तीका अनुसार उक्त घरहरुमा उनीहरुका संस्कृति झल्कने सामग्रीसमेत प्रदर्शन गरिनेछ ।

“महोत्सव अवलोकन गर्न आउनेलाई एउटै थलोबाट विभिन्न जनजातिको परम्परागत घर र संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यसाथ घर निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “जसले गर्दा महोत्सवलाई आकर्षण थप्नेछ ।” अहिलेका पुस्तालाई जनजातिका परम्परागत घरबारेमा जानकारी नहुने भएकाले महोत्सवका अवसरमा त्यस्ता घर प्रदर्शन गर्न लागिएको घर्तीले बताउनुभयो ।

बाँस र खर प्रयोग गरी बनाइएका घरलाई निकै आकर्षक बनाइएको छ । ‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित हुने महोत्सव यही कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

दुई सय ३० कक्ष रहने महोत्सवमा रु तीन करोड बराबरको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *