महरालाई अदालतले धरौटीमा रिहा गरेन, पुर्पक्षका लागि थुनामा
काठमाडौं,
संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीवार दायर गरेको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो ।
जिल्ला न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिने भएको छ । जिल्ला अदालतमा शुक्रवार महराको बयान भएको थियो ।
बयानमा महराले पीडित भनिएकी रोशनी शाहीको डेरा रहेको क्षेत्रमा आफू गएको तर, उनको डेरामा प्रवेश नगरेको बयान दिएका थिए । बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् । उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते दशैंको महाअष्टमीको दिन पक्राउ गरिएको थियो ।
