October 23, 2026

बिर्तामोड।

बिर्तामोड निवासी ढुङ्गाना परिवारले शिवाकोटी परिवारलाई आफ्नो १३ कठ्ठा जमिन अतिक्रमण गरेको आरोप लागाउँदै केही दिन अघि पूर्वाञ्चल दैनिक लगायतका केही स्थानीय सञ्चारमाध्यममै प्रेस विज्ञप्ति प्रकाशित भए ।

लगत्तै शिवाकोटी परिवारको तर्फबाट पनि त्यसको खण्डन गर्दै उल्टै ढुङ्गाना परिवारले दुई कठ्ठा ६ धुर जमिन मिचेको प्रेस विज्ञप्ति जारी भयो । आरोप लगाउने ढुङ्गाना परिवार शिक्षासेवी हुन् ।

कनकाई एजुकेशन फाउण्डेशनका संस्थापक समेत रहेकी अञ्जना ढुङ्गानाले बिर्तामोड निवासी रुची शिवाकोटीको नाममा दर्ता कायम रहेको जमिनमा आफ्नो सीमाना मिल्ने र सो सीमाना मिचेर शिवाकोटी परिवारले पर्खाल लगाएको भन्दै आपत्ति जनाइन् । यता शिवाकोटी पनि कञ्चनजंङ्घा नर्सिङ कलेजकी सञ्चालक हुन् । उनले पनि विज्ञप्ति जारी गर्दै आफ्नो कित्ता नम्वर १७२ र ५४८ नम्वरको जमिन मिचेर बिगतका वर्षदेखि नै विरुवा लगाएको आरोप लगाइन् । सीमाना विवाद अन्त्यका लागि पटक–पटक जमिन नाप्न प्रयत्न गरिए पनि ढुङ्गाना परिवार नै नआउने गरेको विज्ञप्तिमा भनिएको थियो ।

दुवै परिवार शिक्षा क्षेत्रमा काम गर्छन् । उनीहरु नै जमिन विवादमा रुमल्लिएका छन् । आरोप र प्रत्यारोपमा एक अर्कालाई मुछेपछि पूर्वाञ्चल दैनिकले स्थलगत अध्ययन गरेको छ । सो क्रममा जमिनको नापका लागि आएको टोलीका अमिन नारायण बस्नेतसँग जानकारी लिँदा उनले रुची शिवाकोटी र बिमलादेबी चौधरीको नाममा दर्ता कायम रहेको जमिनको सीमाना दुई÷चार फिट तलमाथि भएको र दुवैले आ–आफ्नो अडान छाडे विवादको समाधान हुने बताए । उनले भने – यो जमिन धेरैपटक नापियो तर, विवाद जस्ताको तस्तै छ ।’

४८ सयको ठूलो नक्सा भएकाले जमिन नाप्दा दुई तीन फिटको मात्रै फरक पर्छ तर ढुङ्गाना परिवारले देखाएको ठाउँबाट जमिन नाप्नुपर्ने भएपछि आफूहरुलाई जमिन नाप्न सहज नभएको अमिन बस्नेतको भनाइ छ । अमिन बस्नेतले जमिन नाप्ने क्रममा ढुङ्गाना परिवारले नै देखाएको पोइन्टबाट जमिन नाप्न नसकिने र बीच पोइन्टबाट नाप्दा शिवाकोटी परिवारको जमिन ढुङ्गाना परिवारले भोगचलन गर्दै आएको सीमाना भन्दा केही तलसम्म पर्ने बताए । छोरी रुची शिवाकोटीको नाममा दर्ता कायम रहेको जमिनमा बिर्तामोड नगरपालिका प्रमुख समेत रहेका ध्रुवकुमार शिवाकोटीले जमिन घेरावेराका लागि वाल उठाएपछि विवाद चुलिएको हो । यस अघि पनि सो जमिनमा विवाद नै रहेको बताइन्छ ।

यता ढुङ्गाना परिवारले जमिनको विवादमा प्रशासन गुहारेको छ । ढुंगानाले प्रमुख जिल्ला अधिकारीसम्मलाई आफूहरुमाथि अन्याय भएको भन्दै निवेदन दिएका छन् । त्यसमाथि निवेदनमा जिउज्यानको सुरक्षाको माग गरिएको छ । तर, शिवाकोटी परिवारले ढुङ्गाना परिवारले लगाएको आरोप जस्तो नभएको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । रुचीले विज्ञप्ति प्रकाशन गर्दै भनेकी छिन्– मेरो जमिन मिचेर विरुवा लगाउनु अनि उल्टै मलाइ अन्याय भयो भन्दै हिँड्नु आफैंमा लाजमर्दाे कुरा हो ।

घटनामा बिर्तामोड नगरपालिका–२ नम्वर वडा कार्यालय भने चुकेको छ । नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि समितिले घटना मिलाउनका लागि वडा नम्वर २लाई पत्रचार गरेको थियो । तर, वडा कार्यालयले सो मुद्दालाई सोझै अदालत पठाएको छ । वडाले विवाद मिलाउन नसकेको खण्डमा पुनः न्यायिक समितिमा मुद्दा फिर्ता पठाउनु पर्नेमा वडा कार्यालयले सोझै ढुङ्गाना परिवारलाई अदालत पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *