May 1, 2026

सभामुख महरा राजीनामा दिने मनस्थितीमा, ओली–प्रचण्ड छलफल

0

काठमाडौं,

सभामुख कृष्णबहादुर महरालाई लागेको गम्भीर आरोपका बारेमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।

सभामुखमाथि गम्भीर आरोप लागेकाले राजीनामाबारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेपछि सुरु भएको छलफलमा सभामुख कृष्णबहादुर महरामाथि संघीय संसद सचिवालयकी एक कर्मचारीले लगाएको यौन दुर्व्यवहारको आरोपपछिको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको दुवै अध्यक्ष निकट स्रोतले जानकारी दिएको छ।

संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत आइतबार साँझ आफूमाथि यौन दुर्व्यवहार गरेको ती महिला कर्मचारीले आरोप लगाएकी छन्। उनले विभिन्न संचार माध्यममा आफूमाथि सभामुखले कोठामै आएर बलात्कार गरेको आरोप लगाएकी हुन्।

उक्त विषय सोमबार सार्वजनिक भएको हो। सभामुखले भने आफूलाई फसाइएको प्रष्टिकरण दिएका थिए। सभामुखको सचिवालयले पनि विज्ञप्ति जारी गर्दै राजनीतिक छवि बिगार्नका लागि विभिन्न समूह लागिपरेको आरोप लगाएको थियो। ओली र प्रचण्डले बालुवाटारमा सभामुखसँग राजीनामा माग्नेबारे छलफल भइरहेको बताइएको छ।

नाम उल्लेख नगर्ने सर्तमा बालुवाटार स्रोतले भन्यो, ‘यति गम्भीर विषयमा दुवै अध्यक्ष छलफल गरिरहनुभएको छ। केही न केही निर्णय हुन्छ।’ सभामुख महरासँग उक्त आरोपका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले फोनमा कुराकानी गरेर बुझेका बताइएको छ।

अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार सभामुखमाथि लागेको गम्भीर आरोपको विषयमा छलफल गर्नका लागि नै छलफल भइरहेको हो। दुवै अध्यक्षको छलफलपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्ने बताइएको छ। सभामुख कृष्णबहादुर महराले भने प्रधानमन्त्री र अध्यक्ष प्रचण्डको छलफल पछि आजै निर्णय लिने बताइएको छ।

सभामुखले ओली र प्रचण्डसँग फोनमा आफूमाथि लागेको आरोपको बारेमा छलफल गरेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। सभामुखले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिनुपर्ने व्यवस्था छ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *