April 29, 2026

राष्ट्रिय निकुञ्जद्वारा १६ करोड राजश्व सङ्कलन

0

सोलुखुम्बु।

सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ लाख २३ हजार २२१ र आन्तरिक पर्यटकबाट रु ७२ हजार २३० राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै, गाइडबाट रु ३१ लाख ८१ हजार ८४९, हेलिकप्टर अवतरण गरेबापत रु एक करोड १३ लाख ७१ हजार ६४४, विदेशी टोलीको क्याम्पियनबाट रु आठ लाख ८२ हजार ७४१ सङ्कलन भएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

सहासिक पर्यटकीय गतिविधिबाट रु दुई लाख ८५ हजार ८७४ सङ्कलन भएको छ । यस्तै कार्यालयले रु छ लाख ६० हजार बेरुजु असुल गरेको छ भने निकुञ्जको नियमविपरीत कार्य गरेबापत दण्ड जरिवानाबाट रु १ लाख ७१ हजार ६९४, काठ निकासी गरेबापत रु एक लाख ९८ हजार ६७५ राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जले विदेशीबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु १ हजार ५० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेबापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *