July 5, 2026

एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कारबाट आङ्दम्वे पुरस्कृत

0

बिर्तामोड, चैत १७। यस वर्षको एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार यज्ञराज आङ्दाम्वे (विष्णु सुब्बा) लाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसको अवसर पारेर शुक्रवार प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित २१ हजार राशीको सो पुरस्कार आङ्दाम्वेलाई प्रदान गरिएको हो । पुरस्कार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदान गरे । पुरस्कृत पत्रकारको परिचय नेपाल प्रेस युनियन झापाका सचिव गिरीराजमणि भट्टराईले दिएका थिए । २०६२ सालदेखि नेपाल पत्रकार महासंघ झापा शाखाले सो पुरस्कार प्रत्येक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ ।
त्यस्तै एलएल शर्माकी धर्मपत्नीको स्मृतिमा स्थापित पार्वती प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मेनुका भण्डारी पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद ११ हजार रुपैयाँ रहेको छ । पुरस्कृत पौडेलको परिचय पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटीले गराएकी थिइन् । प्रोत्साहन पुरस्कार पत्रकारका श्रीमतीलाई २०६५ सालदेखि प्रदान गरिँदै आएको छ ।
महासंघका झापा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, केन्द्रीय सदस्य उद्धव तिम्सिना, पुरस्कारका संरक्षक राजेन्द्र शलभ, पुरस्कृत पत्रकार आङ्देम्वे, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव सन्तोष आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *