June 14, 2026

पर्वतलाई आर्थिक पत्रकारिता पुरस्कार

0

 

मेचीनगर ।

मेची उद्योग वाणिज्य सङ्घद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेललाई प्रदान गर्ने निर्णय भएको छ ।
आर्थिक क्षेत्रमा कलम चलाउने झापा जिल्लाका एक जना सक्रिय पत्रकारलाई सङ्घले हरेक वर्ष १५ हजार रुपैयाँ नगदराशीको सो पुरस्कार प्रदान गर्छ ।
२०७१ सालमा स्थापना गरिएको उक्त पुरस्कार यस अघि पहिलोपल्ट ‘द हिमालयन’ अङ्ग्रेजी दैनिकमा कार्यरत भद्रपुरका पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको थियो ।
शुक्रवार सङ्घका अध्यक्ष एवम् पुरस्कार छनौट समितिका संयोजक पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको बैठकले पोर्तेललाई पुरस्कार प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
मेचीनगर–६ निवासी पत्रकार पोर्तेल विगत डेढ दशकदेखि नेपालको पूर्वीद्वार काँकरभिट्टामा रहेर आर्थिक लगायतका क्षेत्रमा सक्रिय पत्रकारिता गरिरहेका छन् ।
विगत एक दशकदेखि कान्तिपुरमा आवद्ध उनले लोकतन्त्र पोस्ट, जनसंसद्, विवेचना, पूर्वाञ्चल, ब्लास्ट, दर्शन लगायतको दैनिक पत्रिकामा रहेर पत्रकारिता गरिसकेका छन् ।
पुरस्कार छनौट समितिमा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा, महासङ्घकै पूर्व केन्द्रीय सदस्य मोहन काजी, मेची उद्योग वाणिज्य सङ्घका महासचिव ऋषिराज तिम्सिना, सङ्घका पूर्व अध्यक्ष विजय डालमिया सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *