April 30, 2026

किसानलाई दैनिक १६ लाख रूपैयाँ

0

 

पथरी (मोरङ), १२ असोज । दुग्ध वितरण आयोजना विराटनगरले पूर्वाञ्चलका आठ जिल्लाका किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तानी गर्न थालेको छ ।

आयोजना प्रमुख ईश्वरीराज न्यौपानेका अनुसार पूर्वको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, तेह्रथुमका गरी २० हजार किसानबाट दैनिक सरदर ४२ हजार लिटर दूध सङ्कलन गर्नुका साथै त्यसबापत किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तान गर्दै आएको हो । सङ्कलित दूधमध्ये दैनिक १२ हजार जति बिक्री गरेर बाँकीको दही, पनिर, आइसक्रिम र धुलो दूध बनाउने गरेको छ ।

दुग्ध वितरण आयोजनाबाट हजारौँ किसान लाभान्वित हुँदै आएका छन् । विद्युत्भार कटौतीको समस्या, दुग्ध पदार्थको भण्डारण गर्ने ठाउँको अभाव, पुरानो धुलो दूध कारखाना, पुँजीको अभाव, सहयोगी संस्थाहरूसँग समन्वयको अभाव आदि कारणले सन्तोषजनक ढङ्गले काम गर्न नसकेको बताइन्छ ।

अनुकूल परिस्थिति बन्दै गएमा निकट भविष्यमै धुलो दूध कारखानाको क्षमता तीन टनबाट ६ टन बनाइने, उत्पादनमा विविधीकरण र प्याकेजिङमा सुधार ल्याउने, उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने, वित्तीय संस्थासँग समन्वय गरी सहुलियत दरमा किसानलाई गाईभैँसी पालनमा ऋण लगानी गर्ने, सुनसरी, सप्तरी, झापा, इलाम, पाँचथर, धनकुटामा रहेका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने योजना रहेको दुग्ध वितरण आयोजना विराटनगरका आयोजना प्रमुख न्यौपानेको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *