June 13, 2026

टिकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा तीन जना पुरस्कृत

0

गोपाल अधिकारी,
ताप्लेजुङ।

टिकाराम गौतम स्मृति प्रतिष्ठानको १२औं स्मृति दिवस मनाइएको छ ।

फुङ्लिङ नगरपालिका–७ मा भएको कार्यक्रममा फरक तीन विधाका श्रष्टालाई पुरस्कार वितरण गरिएको थियो । संस्थाका सभापति तोयानाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा सामाजिक सेवा पुरस्कारबाट भानुजन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राई लाई नगद १० हजार एक सय पाँच रुपैयाँ, पत्रकारितातर्फ सहारा लङ्वालाई १० हजार एक सय पाँच रूपैयाँ तथा जिल्लाभरका उपशाखा मध्यबाट उत्कृष्ट कार्यसम्पादन गर्ने ढुङ्गे साँगु उपशाखालाई नगद १५ हजार एक सय पाँच रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना दुर्गा दल गुल्मका गुल्मपति उमेश खड्का, प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतम, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुभाष आचार्य, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रकुमार गुरुङ, उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष विकास गौतम, अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गौतमको जीवनी, समाजलाई पु¥याएको योगदान र व्यक्तित्वका बारेमा चर्चा गरिएको थियो । स्व. गौतमकी ९६ वर्षीय आमा भागीरथा गौतम, श्रीमती तिलादेवी गौतम, दिदी हिमादेवी गौतम खतिवडा, बहिनी मेनुका गौतम निरौला, भदा सुगमराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०१३ साल बैशाख ९ गते तत्काल ताप्लेजुङ जिल्लाको हाङ्देवास्थित गैरी गाउँमा जन्मिएका टिकाराम गौतम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ताप्लेजुङको स्थापनाकाल (२०३८ साल)बाट विभिन्न पदमा रहँदै सामाजिक सेवामा अग्रसर रहिरहँदा २०६७ साल कार्तिक ११ गते हृदयघातका कारण निधन भएको थियो । उनको स्मृतिमा परिवारका सदस्यहरूले स्व. गौतमको स्मृतिमा प्रतिष्ठान स्थापना गरी अक्षयकोष मार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न तीन विधामा जिल्लावासीहरूलाई पुरस्कृत गर्दै आइरहेका छन् ।

प्रतिष्ठानकी सदस्य पुण्यप्रभा गौतम गुरागाँईंले स्वागत गरेको कार्यक्रममा सचिव प्रकाशमणि गौतमले संस्थाको वार्षिक आयव्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष पत्रकार आनन्द गौतमले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *