April 30, 2026

अन्तर्राष्ट्रिय सम्मानपछि झापामा माधव कल्पितलाई स्वागत

0

झापा , भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि गृह जिल्ला झापा आएका कलाकार तथा अभियन्ता माधव कल्पितलाई भव्य स्वागत गरिएको छ।

राजधानी काठमाडौंबाट झापा पुगेका कल्पितलाई भद्रपुर विमानस्थलमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा नाट्य प्रतिष्ठान, नागरिक बचाउ महाअभियान नेपाल तथा नागरिक बचाउ दल नेपालका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने स्थानीय नागरिकहरूको समेत उल्लेख्य सहभागिता देखिएको थियो। बाजागाजा, माल्यार्पण तथा खादा ओढाएर गरिएको स्वागतले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

कल्पितको नेतृत्वमा झापामा स्थापना गरिएको ‘झापा नाटक घर’ तथा सांस्कृतिक संग्रहालयको प्रभावकारी सञ्चालन र सांस्कृतिक संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै भियतनाम सरकारले उनलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो। उक्त सम्मान सन् २०२६ मार्च ८ मा भियतनामको दानाङ शहरमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको थियो।

सम्मान प्राप्तिपछि स्वदेश फर्किएका कल्पितले उक्त सम्मान सम्पूर्ण नेपाली कला, संस्कृति र समाजसेवाप्रति समर्पित रहेको बताए। उनले आगामी दिनमा अझ सक्रिय रूपमा सांस्कृतिक विकास, कला प्रवर्द्धन तथा सामाजिक अभियानहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको कला र पहिचानलाई चिनाउन सफल भएको भन्दै सहभागीहरूले कल्पितको कार्यको प्रशंसा गरेका थिए। यो सम्मानले झापा मात्र नभई समग्र देशकै गौरव बढाएको धारणा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *