June 14, 2026

संस्कृतिको लयमा विद्यार्थी प्रतिभा : अन्तर विद्यालय प्रदेश स्तरीय सांस्कृतिक नृत्य कार्यक्रम शनिबार

0

सुन्दरहरैचा (मोरङ),

पढाइसँगै संस्कार, अनुशासन र सांस्कृतिक चेतनालाई जीवन्त बनाउने उद्देश्यका साथ नेशनल प्याब्सन कोशी प्रदेश कार्यसमितीले अन्तर विद्यालय प्रदेश स्तरीय सांस्कृतिक नृत्य कार्यक्रम आयोजना गर्न लागेको छ।  शनिबार डेलिया मन्टेश्वरी स्कुलको प्राङ्गणमा हुने यो कार्यक्रम विद्यार्थी प्रतिभाको उत्सव बन्ने अपेक्षा गरिएको छ।

प्रदेशभरिका २० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने नृत्य प्रस्तुत गर्दै मञ्चलाई जीवन्त बनाउनेछन्। मेहनत, अभ्यास र सपनाले सजिएका ती पाइलाहरूमा भविष्यको आत्मविश्वास र सिर्जनशीलताको झल्को देखिने आयोजकको विश्वास छ। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रमबारे जानकारी दिँदै नेशनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले “पढाइ मात्र होइन, संस्कृतिमा रमाउन पाउने अवसर नै विद्यार्थीको समग्र विकासको आधार हो” भन्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास र पहिचान निर्माणमा ठूलो भूमिका खेल्ने बताए। त्यसैगरी नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीले सांस्कृतिक कार्यक्रमले विद्यार्थीलाई आफ्नो माटो र मौलिकतासँग जोड्ने पुलको काम गर्ने उल्लेख गरे।

आयोजकले यस कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम, अभिभावक, शिक्षक तथा सरोकारवाला सबैको साथ, सहयोग र उपस्थितिको अपेक्षा गरेको छ। संस्कृतिको संरक्षण, प्रतिभाको सम्मान र विद्यार्थीको मुस्कानसँग जोडिएको यो कार्यक्रम सहभागी सबैका लागि स्मरणीय बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रदेश स्तरीय सांस्कृतिक नृत्यमा छानिएर केन्द्रसम्म पुग्नेछ। नेशनल प्याब्सन कोशी प्रदेशका कार्यक्रम संयोजक दिपक न्यौपाने,प्रदेश सदस्य सन्तोष कुमार राई, धिरज नारायण गणेश, मोरङ जिल्ला सचिव भनिरुद्र चौधरी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *