June 21, 2026

जेष्ठ नागरिकको सारथी बनेका सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्य

0

सुन्दरहरैंचा(मोरङ),

समाजका जेष्ठ नागरिकहरू अनुभव, संस्कार र त्यागका जीवित इतिहास हुन्। उनीहरूको सम्मान, संरक्षण र सहायताका लागि निरन्तर क्रियाशील व्यक्तित्वमध्ये एक हुन्— निरन्जन प्रसाद आचार्य। मोरङको सुन्दरहरैचा–३ निवासी आचार्य जेष्ठ नागरिकको सारथीका रूपमा समाजमा परिचित हुँदै आएका छन्।

जेष्ठ नागरिकले भोग्दै आएका एक्लोपन, स्वास्थ्य समस्या, उपेक्षा तथा सामाजिक असुरक्षाका विषयमा आचार्यले निरन्तर आवाज उठाउँदै आएका छन्। जेष्ठ नागरिकका अधिकार, सम्मान र आत्मसम्मान प्रवर्द्धनका लागि उनले विभिन्न सम्मान कार्यक्रम तथा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।

आचार्यका अनुसार जेष्ठ नागरिकको सम्मान गर्नु भनेको समाजको संस्कार र मूल्य जोगाउनु हो। यही मान्यतालाई व्यवहारमा उतार्दै उनले जेष्ठ नागरिकलाई समाजको मूलधारसँग जोड्ने प्रयास निरन्तर जारी राखेका छन्। उनका पहलले धेरै जेष्ठ नागरिकहरूमा नयाँ आशा र आत्मविश्वास बढेको स्थानीयवासीहरू बताउँछन्।

सामाजिक सेवा औपचारिक जिम्मेवारी मात्र नभई मानवीय कर्तव्य भएको आचार्यको धारणा छ। व्यक्तिगत समय, श्रम र स्रोत समाजका कमजोर तथा असहाय वर्गका लागि समर्पण गर्दै आएका उनी जेष्ठ नागरिकमैत्री समाज निर्माणको अभियानमा अग्रपङ्क्तिमा देखिन्छन्।

आचार्यको योगदानले जेष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको छ। उनका निरन्तर प्रयासले भावी पुस्तालाई पनि सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ। साथी कम्युनिकेसन संचालक समेत रहेका आचार्यले जेष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा वडा नम्बर – ३ मा १ लाखको अक्षय कोष पनि स्थापना गरिसकेका छन्।
 साथै उनले धेरै विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर हार्डवेयर रिपेयरिङ्ग कोर्स प्रदान गरिसकेका छन्।  उनी जेष्ठ नागरिकको कार्यक्रम हुँदा कुनै न कुनै सहयोग गरिहाल्ने व्यक्तिको रुपमा परिचित हुन्। जेष्ठ नागरिकको सम्मान र संरक्षणका लागि निरन्तर लागिरहने सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्य आज सुन्दरहरैचा मात्र होइन, समग्र समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *