June 17, 2026

भद्रपुर अस्पतालमा लगातार चोरी, तीन जना पक्राउ

0

भद्रपुर, प्रादेशिक अस्पताल भद्रपुरमा पछिल्लो केही सातायता भएका विभिन्न चोरीका घटनामा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। चोरीका घटनाहरू फरक–फरक मितिमा अस्पताल परिसरभित्रै भएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पहिलो घटनामा भद्रपुर नगरपालिका–६ निवासी ३७ वर्षीय रञ्जित घोषलाई अस्पतालको पुरानो सर्जिकल वार्डको बाहिरी भागमा अक्सिजन सप्लाईका लागि जडान गरिएको तामाको पाइप चोरी गरेको आरोपमा पक्राउ गरिएको हो। उक्त घटना गत असोज ३ गते दिउँसो भएको थियो। घोषलाई प्रहरीले असोज २४ गते पक्राउ गरेको बताएको छ।

त्यसैगरी, दोस्रो घटनामा भद्रपुर–१० का ३० वर्षीय सुरज जमदारले अस्पतालको गाइनो वार्डको पहिलो तलाबाट अक्सिजनको पाइप चोरी गर्दै गरेको दृश्य अस्पतालको सीसीटीभी फुटेजमा कैद भएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको हो।

तेस्रो घटनामा भने मेचिनगर नगरपालिका–७ का २८ वर्षीय विश्वनाथ राजवंशीले अस्पतालको औषधी स्टोर रुमबाट ःमेथाडोल नामक झोल औषधी चोरी गरेको सीसी टीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। उनलाई पनि असोज २३ गते नै पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ परेका तिनै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ। अदालतबाट ५ दिनको म्याद लिइ उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *