May 7, 2026

आफ्नै थलोमा शरणार्थी हुनुको पीडा

0

आफ्नो थातथलोमा लखेटिनु पर्दाको पीडा जो कोहीले अनुभूत गर्न सक्दैन । यो अनुभूति गर्ने क्षमताका कारण पनि मानिस सर्वोच्च प्राणी मानिएको हुनसक्छ । सृष्टिको अनुपम वरदान हो मानव जीवन, तर त्यही बरदानले अनेक पीडा भोग्छ र त्यसबाट उन्मुक्ति पाउने प्रयत्न पनि गरिरहन्छ । मानिसले भोग्ने अनेक थरीका पीडामध्ये जो कोहीले अनुमान गर्न नसक्ने पीडा आफ्नै जन्मस्थलबाट बलपूर्वक लखेटिनु पर्दाको हुनसक्छ । त्यसमा पनि पुस्तौंदेखि खुनपसिना सिञ्चन गरेर आर्जन गरेको श्रीसम्पत्ति, समाज र माटोलाई अकारण लखेटिनु पर्दाको पीडाको चोट कति गहिरो होला ! अनुमान गर्नै गाह्रो हुन्छ । भुटानी सरकारको दोषयुक्त दृष्टिमा गैरभुटानी घोषित हुनु नेपाली भाषी भुटानीहरुको दुर्भाग्य बन्यो । त्यहीकारण एक लाखभन्दा बढी नेपाली भाषी भुटानी नागरिक स्वदेशबाट खेदिए र शरणार्थी बन्न बाध्य भए ।

संयुक्त राष्ट्रसंघको अग्रसरतामा झापा र मोरङमा शरणार्थी जीवन बाच्न बाध्य शरणार्थीहरु धेरै तेस्रो देश पूनर्वास भए । अझै केही शिविरमै छन् जो स्वदेश फिर्तीको झिनो आशामा मृत्यु कुरिरहेका छन् । अहिलेसम्म नेपाल सरकारका तर्फबाट उनीहरु न स्वदेश फिर्ता गराउने वातावरण बनाइएको छ न त उनीहरु माथिको ‘शरणार्थी’को अभिशाप मेट्ने प्रयास भएको छ । एउटै भाषा, एउटै संस्कार, उही संस्कृति भएर पनि आत्मसम्मान र स्वाभिमानको जीवन बाच्न नपाउनुको पीडा नक्कली शरणार्थी बनाउनेहरुले अनुभूत गर्ने कुरा नै भएन । किनकि नक्कली भुटानी शरणार्थी बनाउनेहरु सत्ता सञ्चालक नै छन्– यस्तो आरोप लागेकै छ । आरोप मात्र होइन केही त त्यही प्रकरणमा न्यायालयको अनुसन्धानमै छन् । मानिस जन्मैदेखि स्वतन्त्र हुन्छ भनिन्छ । यसर्थ ऊ स्वतन्त्र भएर बाँच्न चाहन्छ त्यही चाहना भएका प्राणी हुन भुटानी शरणार्थीहरु पनि । तर, ती जो स्वदेश फिर्तीको मधुर आशा र त्यसमा यतै रहे, उनीहरु न परिवारसँग बस्न पाए न त आफ्नो भूमिमा फर्किन नै ।

सन् १९९२ मा भुटानबाट लखेटिएर भारत हुँदै नेपाल प्रवेश गरेका नेपाली भाषी भुटानी मध्येका टीकाराम मगर आज पनि अस्तित्वहीन मानव जीवन बाँचिरहेका छन् । उनका पाँच भाइ छोरा मध्ये एकजना पनि साथमा छैनन् । उमेरले शताब्दी टेकेका मगर, आठ दशकको यात्रामा रहेका सुकलाल राई, मनबहादुर मगर, सुकबहादुर तामाङ, दुर्गा बिष्ट जस्ता धेरै जना आज पनि भुटान नै फर्किने अडानमा छन् भने केही तेस्रो मुलुक पुनर्वासको आशामा छन््, केही नेपालमै बस्ने इच्छा बोकेर दुःख झेल्दैछन् । राष्ट्र संघीय उच्चायोग लगायतका अन्तर्राष्ट्रिय दातृ निकायले स्वदेश फिर्तीको अभियानमा चासो नदिएको र नेपाल सरकारको कमजोर कुटनीतिक क्षमताले अलपत्र परेका मध्ये अझै केहीको भने आफ्नो माटोको सुगन्ध लिने इच्छा कायमै छ । यद्यपि उनीहरु पितृभूमिमा छन्, यही माटोबाट उनीहरुका पुर्खाहरु रोजगारीको खोजीमा भुटान पुगेका थिए, तर त्यही भूमिमा विरानो भएर बाँच्नु पर्दाको पीडा सहन गर्न सकिरहेका छन् । यसबीचमा लाखौं विदेशीहरु यहँका नागरिक भइसकेका छन्, तर एउटै भाषा, संस्कार, संस्कृति र परम्परा भएर पनि अस्तित्वविहीन हुनु दुर्भाग्य हो । उनीहरुले पनि सम्मान साथ बाँच्न पाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *