September 16, 2026

झापा गाउँपालिकाको जनमुखी बजेट : सुत्केरीलाई ९ हजार

0

विनोद सापकोटा
झापा,
झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि सार्वजनिक गरेको बजेटमा जनकल्याणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
गाउँपालिकाको अठारौं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले सार्वजनिक गरेको ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँको बजेटमा नागरिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना समावेश गरिएको छ।

झापा गाउँपालिकाका स्थायी बासिन्दाका लागि ७५ युनिटसम्मको विद्युत महसुल र कृषकका लागि सिचाइ विद्युत महसुलमा ८० प्रतिशत पालिकाले व्यहोर्नेछ। सुत्केरी स्याहार भत्ताका रूपमा ९ हजार रुपैयाँ, मृत्यु संस्कार र समवेदनामा २० हजार रुपैयाँ, विपन्न परिवारका लागि साझेदारीमा स्वास्थ्य बीमा र ८४ वर्षमाथिका ज्येष्ठ नागरिक तथा विदुरलाई ७ हजार ५ सय रुपैयाँ सम्मान रकम प्रदान गरिनेछ। सर्पदंश, कुकुरको टोकाइ र रगत व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च पनि पालिकाले व्यहोर्ने व्यवस्था बजेटमा उल्लेख गरिएको छ।
दोस्रो प्राथमिकता पूर्वाधार र कृषि विकासमा दिइएको छ। प्रत्येक वडामा कम्तीमा एक सडक कालोपत्रे गरिनेछ। कृषिका लागि खेतखेतमा विद्युत पु¥याउने, कृषि औजार र मोटर खरिदमा ५० प्रतिशत अनुदान प्रदान गर्ने योजना पालिकाको रहेको छ।
माई बिरिङमा तटबन्धन निर्माण, दमकलको व्यवस्था र इन्डक्शन चुलो खरिदमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम बजेटमा समावेश छन्। कामाटोली ९फुलगाछी० मा निर्माण सम्पन्न अस्पताल सञ्चालन गर्ने र प्राविधिक विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम पनि पालिकाले अघि बढाएको छ।

तेस्रो प्राथमिकता युवा र खेलकुद क्षेत्रमा दिइएको छ। युवा तथा खेलकुद कार्यक्रमका लागि ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ। अध्यक्ष कप फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता, खेलकुद विकास कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड, खेल प्रशिक्षक व्यवस्थापन, पालिकाबाहिर सञ्चालन हुने खेलकुद कार्यक्रम र संघसंस्थासँग साझेदारीमा सञ्चालन हुने गतिविधिका लागि बजेट छुट्याइएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिएका खेलाडीलाई सम्मान गर्न र युवाका लागि सिपमूलक तालिम सञ्चालन गर्न समेत बजेट विनियोजन गरिएको छ। गाउँपालिकाका पूर्व अध्यक्ष जय नारायण शाहले जनचाहना अनुरूप जनमुखी कार्यक्रमलाई निरन्तरता दिइएको र थप योजना समावेश गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *