September 16, 2026

पशुपंक्षी तथा मत्स्य विकास शाखालाई विभिन्न स्वास्थ्य सामग्री

0

बिर्तामोड,  बिर्तामोड नगरपालिका वडा नं. १० मा अवस्थित मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रा.लि.ले नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।

एक संक्षिप्त कार्यक्रमका बीच उक्त सामग्री नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई संस्थाका निर्देशक राजेन्द्र कुमार श्रेष्ठ र उप-निर्देशक अतिनराज प्रधानले हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत खोरेत तथा लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले खोरेत र लम्पी रोग नियन्त्रण गर्न सकेमा गाईको दूधबाट उत्पादित छुर्पी लगायतका सामग्रीहरू विदेशी बजारमा निर्यात गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, नगर उपप्रमुख संग्रौलाले स्वास्थ्य सामग्री प्रदान गरेबापत मनराम हिमालयन ह्यान्डिक्राफ्टलाई धन्यवाद व्यक्त गर्दै यसले स्थानीय किसानहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताउनुभयो। निजी क्षेत्रबाट प्राप्त सहयोगले खोरेत तथा लम्पी स्किन रोगको नियन्त्रणमा टेवा पुग्ने उहाँको भनाइ थियो।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काका अनुसार, असार ३ गतेदेखि नगरका विभिन्न वडामा खोरेत तथा लम्पी रोग विरुद्धको खोप कार्यक्रम निःशुल्क रूपमा सञ्चालन भइरहेको छ, जसमा पाँच जना प्राविधिक खटिएका छन्। हालसम्ममा वडा नम्बर ६,७ र ९ मा सम्पन्न भइसकेको छ ।

कार्यक्रममा शाखा अधिकृत सावित्रा दाहाल, मनराम हिमालयन ह्यान्डिक्राफ्टका डकुमेन्ट अफिसर जीना पौडेल, प्रतिनिधि बसन्त पौडेलको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *