May 1, 2026

दोमुखालाई झलल बनाउन १०८ धारा

0

विनोद सापकोटा

झापा, पूर्व नेपालको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल दोमुखामा १०८ वटा ढुङ्गेधारा निर्माण हुने भएको छ ।
मुक्तिनाथका १०८ धाराबाट स्नान गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वासलाई आत्मसात गर्दै दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले यस्तै संरचना दोमुखामा पनि निर्माण गर्ने तयारी गरेको हो ।
संस्थाका अध्यक्ष धन प्रसाद लावतीले ढुङ्गे धारालाई मात्र प्राथमिकता दिइएको जानकारी दिँदै भने, “ढुङ्गे धारा बाहेक अन्य कुनै विकल्प समितिले सोचिरहेको छैन ।” उनका अनुसार निर्माण कार्य दोमुखाको वैष्णव देवी माता मन्दिर नजिकै, शिवजीको कुण्ड क्षेत्र वरिपरि गरिनेछ । 

धार्मिक आस्थाको केन्द्र दोमुखा

इलाम र झापाको सीमामा अवस्थित दोमुखा पूर्व नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पूर्वी तटीय क्षेत्र हुँदै बग्ने कन्काई माई नदीको कलकल आवाजले दोमुखाको प्राकृतिक सौन्दर्यमा थप आकर्षण ल्याएको छ । कार्तिक महिनाको पहिलो सातादेखि जेठ महिनाको अन्त्यसम्म यहाँ पिकनिक, वनभोज तथा त्रिपिण्डी श्राद्धका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

हाल वार्षिक करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटकले दोमुखाको भ्रमण गर्ने गरेका छन् । १०८ धाराको निर्माणपछि यो सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुने संस्थाको अपेक्षा छ ।

कोशी पर्यटन वर्षसँगै धार्मिक तथा सांगीतिक महोत्सव

कोशी प्रदेश सरकारले वि.सं. २०८२ लाई ’कोशी पर्यटन वर्ष’ घोषणा गरेसँगै, दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले पनि सरकारको अभियानलाई सघाउने गरी विभिन्न धार्मिक तथा सांगीतिक गतिविधिहरू आयोजना गर्ने तयारी गरेको छ ।


संस्थाले “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ“, “धार्मिक महोत्सव“ र “दोमुखा सांगीतिक महोत्सव“ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । यस्ता कार्यक्रमहरूले धार्मिक पर्यटन प्रवद्र्धन मात्र नभई सांगीतिक वातावरण सिर्जना गरी पर्यटकहरूलाई थप आकर्षित गर्ने अपेक्षा समितिले गरेको छ ।

१०८ धाराको विशेषता

दोमुखामा निर्माण गरिने सबै १०८ धारा विशुद्ध ढुङ्गाबाट आकर्षक कलाकृतिका रूपमा निर्माण गरिनेछ । दोमुखाबाट करिब ५०० मिटर उत्तरतर्फ घिर्लिङ डाँडाबाट सप्त कन्काई माईको पवित्र पानी पाइपिङ गरी धारासम्म स्वचालित रूपमा ल्याइने व्यवस्था समितिले मिलाएको छ ।

कन्काई नदीको पवित्र पानीले स्नान गर्दा चर्मरोग निको हुने, पारिवारिक कलह हट्ने र पितृ उद्धार हुने धार्मिक विश्वास रहिआएको छ । स्नान गर्न आउने श्रद्धालुहरूका लागि चेंजिङ रूमको समेत व्यवस्था समितिले गर्ने बताएको छ ।
तीन साता अघि मुक्तिनाथ पुगेका समितिका प्रतिनिधिहरूले त्यहाँका १०८ धाराको पवित्र जल तथा कालीगण्डकी नदीबाट १०८ शालिग्राम भगवान दोमुखामा ल्याइसकेको संस्थाका सचिव धनकुमार ढकालले जानकारी दिए । वैशाख १७ गते अनन्त श्री विभूषित १००८ स्वामी भागवताचार्यजी महाराजको प्रमुख उपस्थितिमा १०८ धाराको विधिवत भूमिपूजन गरिने कार्यक्रम तय भएको छ ।

लागत, दाताको सहभागिता र सहयोग आह्वान

१०८ धाराको निर्माणका लागि समितिले करिब १ करोड रुपैयाँको लागत अनुमान गरेको छ । यस योजनालाई सफल बनाउन तीनै तहका सरकार, देशविदेशमा रहेका नेपाली समुदाय र श्रद्धालुहरूबाट आर्थिक सहयोग संकलन गरिने अपेक्षा समितिले राखेको छ ।

संस्थाले धारा निर्माणका लागि विभिन्न योजना ल्याएको छ । एक धारा निर्माणका लागि संस्थागत वा पारिवारिक नाममा ५१ हजार रुपैयाँ र व्यक्तिगत रूपमा एउटा धाराको २५ हजार रुपैयाँ तय गरेको छ ।
अध्यक्ष धन प्रसाद लावतीले पहिलो दाता स्वयं आफू हुने घोषणा गर्दै भने, “म ५१ हजार रुपैयाँ प्रदान गरेर दाताको सूचीमा पहिलो नम्बरमा सूचीकृत हुनेछु ।” संस्थाले मौज्दात रकमसमेत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

उज्यालो भविष्यको अपेक्षा

१०८ धाराको निर्माण सम्पन्न भएपछि दोमुखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरेकोछ । संस्थाका अनुसार, भविष्यमा दोमुखामा वार्षिक ५० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिने सम्भावना छ । यसबाट केवल स्थानीय अर्थतन्त्र सशक्त हुने मात्र होइन, झापा र इलाम जिल्लाको समग्र आम्दानी वृद्धि हुने विश्वास गरिएको छ ।

मुक्तिनाथको अनुकरण कि धार्मिक आस्थाको विस्तार?

मुक्तिनाथ नेपालको एक प्रमुख तीर्थस्थल हो जहाँ मानव निर्मित १०८ धाराबाट स्नान गर्दा पापमोचन र मोक्ष प्राप्ति हुने विश्वास छ । दोमुखामा पनि १०८ धारा बनाउने योजना सार्वजनिक भएपछि केहीले यसलाई मुक्तिनाथको “नक्कल“ जस्तै भनि आलोचना गर्न थालेका छन् ।

तर, दोमुख धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धन प्रसाद लावती भन्छन् — “यो नक्कल होइन । आस्थाको विस्तार हो । मुक्तिनाथको जस्तै आस्था दोमुखामा पनि जगाउने र पूर्वी नेपालमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने हाम्रो मुल उद्देश्य हो ।”
साँच्चिकै हेर्दा मुक्तिनाथजस्तै परिकल्पना भए तापनि दोमुखा आफ्नै धार्मिक तथा भौगोलिक विशेषता बोकेको ठाउँ हो । सप्त कन्काई माईका सात नदीहरूको संगमस्थल र भारतको गङ्गासँग पानी मिसिनु दोमुखालाई स्वतः पवित्रता र धार्मिक मूल्यको दृष्टिले महत्त्वपूर्ण बनाउँछ ।

अपुर्ण ८७ धारा

एतिहासिक धार्मिक स्थल सताक्षीधाममा ८७ वटा धारा निर्माण भएको छ । स्थानियका अनुसार यहाँ कम्तिमा १०० धारा निर्माण हुनुपर्ने हो । यो प्रश्न सतहमा उब्जिए पनि गहिराइमा फरक सत्य लुकेको छ ।
शताक्षीधाम र दोमुखा दुवै आफ्नै स्थान र महत्वका साथ विकसित हुँदैछन् । शताक्षीधाम मूलतः शताक्षी देवीसँग जोडिएको स्थान हो भने दोमुखा सप्त माई नदीको संगमस्थलमा आधारित एक ऐतिहासिक धार्मिक स्थल हो । दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाका अधिकाँस पदाधिकारी भन्छन,‘ “हामी प्रतिस्पर्धा होइन । सहकार्य र पूर्वी नेपाललाई धार्मिक पर्यटन नक्सामा उभ्याउने लक्ष्यका साथ अघि बढेका छौ ।’

१०८ धाराको आवश्यकता छ कि छैन ?

दोमुखा जस्तो प्राकृतिक र धार्मिक स्थानमा संरचित १०८ धारा निर्माणले बाह्य र आन्तरिक धार्मिक पर्यटक आकषिर्त गर्नेछ ।पर्यटनको विकाससँगै स्थानीय आय र रोजगारीका अवसर समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
यहाँको नदी र अब बन्ने धारा संस्कृतिसँग गहिरो सम्बन्ध राख्छ । धार्मिक विश्वास अनुसार सप्त कन्काई माईको पानीले स्नान गर्दा चर्मरोग, पारिवारिक क्लेश हट्ने र पितृ उद्धार हुने मान्यता छ । कतिपयले यसलाई संरचनागत रूपमा अगाडि बढाउँदा धार्मिक संस्कार संरक्षण हुने विस्वास छ ।

दोमुखामा निर्माण हुने १०८ धारा यहाँको धार्मिक पर्यटनको माध्यमबाट पूर्वी नेपालको आर्थिक विकास, धार्मिक संस्कारको संरक्षण र अन्तर्राष्ट्रिय आकर्षण ल्याउने दूरदृष्टि भएको प्रयास हो । यद्यपि, यसको सफलता संस्थाको कार्यान्वयन क्षमतामा, धार्मिक महत्त्वलाई सही रूपमा प्रचार गर्ने सीपमा र वातावरणीय सन्तुलन जोगाउने दृष्टिकोणमा निर्भर रहने स्थानियले बताएका छन् ।

पर्यटन मात्र होइन, आस्था र संस्कृतिको सम्मानका साथ दोमुखालाई विकसित गरिने हो भने १०८ धारा निर्माणले दोमुखालाई नयाँ उज्यालो दिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *