मृत्युलाई अनुमोदन

मैले
सहर्ष अनुमोदन गरेको
आफ्नै मृत्युलाई
तिमीले
थप स्वीकृत गरिरहनु पर्दैन
हो,
जीवन बाँच्ने
लुते भीख माग्नुभन्दा
मैले
आफ्नो बलवान मृत्युलाई
आफैँ
सहर्ष– साहसिक
अनुमोदन गरेपछि
मलाई
यसैमा आनन्द आएको छ
मरेर सदैव
बाँचेको जीवनभन्दा
एक पटक
आफँै
आफ्नो मृत्युलाई सहर्ष साहसिक
अनुमोदन गरेपछिको
आनन्द
आफैँमा जीवन होइन र ?
हो,
मलाई
सहर्ष रोजिएको
यही
साहसिक मृत्युभन्दा
ठूलो जीवन
अन्त
अरुतिर कहीँ कतै
खोज्न जानु छैन
मरेर
मृत्युपछि बाँचेको
जीवनभन्दा
जीवनमा
अरु… अरु… केही
नयाँ रोज्नु छैन !
