September 17, 2026

ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली

0

काठमाडौँ, 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताउनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उहाँले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताउनुभयो ।

“पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो”, उहाँले भन्नुभयो, “वाद्यवादन, नृत्य, साहित्यमा नवरस र पहिलो कविता पनि यही भूमिबाट सुरु भएको हो ।”

अध्यक्ष ओलीले शिक्षा व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा समेत जोड दिनुभएको छ । उहाँले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमुना कलेज बनाउन सुझाव दिनुभयो । विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उहाँले शिक्षकले पनि मेहनत गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले गुरु कुट्नेहरु विद्यार्थी नहुने भन्दै सालिन, इमान्दार र विनम्रता विद्यार्थीका गुण भएको बताउनुभयो । विद्यार्थीले रुचिअनुसारको विषय अध्ययन गर्न नपाएको उल्लेख गदै भन्नुभयो, “अवसरले प्रतिभालाई प्रस्फुटन गराउँछ, त्यसैले अवसरलाई सदुपयोग गर्नुपर्छ ।”

अध्यक्ष ओलीले नेपालमा विकासको धेरै सम्भावना भएको भन्दै धेर काम गर्न सकिने बताउनुभयो । उहाँले अमेरिकाका लागि एक प्रतिशतका उत्पादकत्व वृद्धि धेरै भए पनि हाम्रा लागि भने १० प्रतिशतको वृद्धि पनि कम हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *