हुलाकी सडक कार्यालय प्रमुख र स्थानीयहरूबीच छलफल
छविराज ढकाल/ पथरीशनिश्चरे,

विराटनगर महानगर वडा नं ४ र ५ का स्थानियले हुलाकी सडक प्रमुखसँग छलफल गरेका छन् ।
उनीहरूले शनिबार विराटनगर महानगरका मेयर नागेश कोइरालाको अगुवाइमा समस्या समाधानका लागि भेटघाट र छलफल गरेका हुन् ।
मेयर कोईरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल भएको छ ।
हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भागेपछि केही दिन अघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दवाव दिनुभएको थियो ।
हुलाकी सडक कार्यालयका प्रमुख थापाले ठेकेदार सम्पर्कविहीन भएकाले ठेक्का रद्दको प्रक्रियामा गइसकेको पनि जानकारी दिएका छन् ।
स्थानियसँगको छलफलमा उनले एकैपटक ठेक्का तोड्न ऐनले नदिने भएकाले प्रक्रियागत रुपमा कार्यान्वयन गर्ने प्रक्रियामा गइसकेको सुनाउनुभयो । प्रमुख थापाले ठेकेदारलाई सम्पर्कमा आउन र नआए ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिसकेको जनाएका छन् ।
उनले अब छिट्टै अर्को टेण्डर आह्वान गरेपछि हुलाकी सडक निर्माणको कामले गति लिने पनि बताएका हुन् ।
स्थानीयले सडकका कारण आफूहरूले धेरै समस्या झेलिरहेका गुनासो गर्दै केही समय अघि आन्दोलनमा पनि उत्रिएका थिए ।
