उत्साही साना किसान सहकारी संस्थाको ११ वार्षिक साधारण सभा
छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे -१ स्थित उत्साहि साना किसान सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत कार्तिक १४ गतेदेखि सुरु भएको साधारण सभा १४ वटा अन्तर समुहका ६ स्थानमा विभिन्न वित्तीय कार्यक्रमहरु आयोजना गर्दै १९ गते सम्पन्न भएको हो।
गत शनिबार पन्चायत माध्यमिक विद्यालयको सभा हालमा आयोजित साधारण सभा समापन कार्यक्रम नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता र संविधान सभाको पुर्व सभासद् समेत रहेका सोही सहकारीका जन्मदाता चन्डी प्रसाद राईको आतिथ्यतामा सम्पन्न भएको थियो।
पथरीशनिश्चरे नगरपालिकाको सबै वडाहरू लाई संस्थाको कार्यक्षेत्र बनाएर विभिन्न वित्तीय कारोबार, पशु विमा कार्यक्रम, जैविक मल उत्पादन र विक्री वितरण , अर्गानिक गोठेमल र संस्थाको साझेदारी लगानीमा उत्पादित जैविक मल प्रयोग गरि सामुहिक मौसमी खेतीपाती जस्ता गतिविधिहरु गर्दै आएको उक्त संस्थाका कूल १८ सय ३३ जना शेयर सदस्यहरु रहेका छन्।यो संस्थाको अहिलेसम्म ८ करोड ३८ लाख बराबरको पुंजी रहेको संस्थाकी व्यवस्थापक आईता कुमारी तुम्वापोले बताउनुभयो ।
यसैगरी, संस्थाले वडा नं २ स्थित जैविक मल उत्पादन उद्योगसंग हाल सम्म उत्पादनका आधारमा साझेदारी लगानी गर्दै आएको छ भने ३ वटा साना किसान सहकारी संस्थाहरू सहित उत्साहित साना किसान सहकारी संस्थाका सदस्य शेयर सदस्यहरुले पथरीशनिश्चरे -२ को जैविक मल उत्पादन उद्योगमा जैविक मल उत्पादनको लागि १६ लाख ३० हजार रुपैयाँ पटकपटक गरी लगानी गरिरहेको संस्थाकी अध्यक्ष विन्दा देवि राई (विन्दु) ले जानकारी दिनुभयो।
पछिल्लो समयमा माटोमा बढ्दै गएको अम्लियपन रोकथाम गर्न,मानव स्वास्थ्यमा सुधार ल्याउन र उर्वराशक्ति बढाउँने उपाय खोज्ने क्रममा आफ्नो संस्थाले जैविक मल उत्पादन कम्पनीका संचालक तथा उद्योगी कृष्ण चन्द्र महर्जनसित अर्गानिक गोठेमलसहित जैविक मल उत्पादनका लागि संस्थागत तवरले ६ लाख रुपैयाँ र संस्थाका शेयर -किसानहरू समेतको सहभागितामा २ करोड रुपैयाँ बराबरको पुंजी लगानीमा उत्पादन लागतका आधारमा साझेदारी लगानी गर्दै आएका अध्यक्ष राईले प्रष्ट पार्नुभयो।
उहाँले वर्तमान समयमा माटोको उर्वराशक्ति घट्दै गएको हुदाँ त्यसको संरक्षण तथा उत्पादकत्व वृद्धि गर्न उपायको रूपमा उक्त उद्योगसित जैविक मल उत्पादन गर्न साझेदारी लगानी गर्नु परेको जनाउँनु भयो। सोही क्रममा माटोको उर्वराशक्ति बढाउँने कार्यमा पथरीशनिश्चरे नगरपालिकाको कार्यालयले र वडा नं २ को कार्यलयले गत आर्थिक वर्ष सम्म ६ लाख रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएकाले किसानहरूलाई गएको असारमा उत्पादन लागत मूल्यको ५० प्रतिशत छुटमा जैविक मल बिक्री वितरण गरिएको सुनाउनुभयो।
उहाँले गुनासो राख्दै अगाडि थप्नू भयो -‘स्थानीय सरकारले सानोतिनो अनुदान सहयोग गर्दै आएको छ।तर, संस्थाले पटकपटक प्रदेश र केन्द्रीय सरकारसमक्ष माग गरे पनि अहिलेसम्म कुनै पनि वित्तीय सहयोग प्राप्त भएको छैन।’
साथै, संस्थाकी अध्यक्ष राईले जैविक विविधता संरक्षण तथा संवद्रधनका लागि ध्यान नदिएको बताएका ति दुवै सरकारलाई जैविक मल उत्पादन र माटोको उर्वराशक्ति बढाउँने संस्थाको अभियानमा सहयोग गरिदिन पनि आग्रह गर्नुभएको छ।
