June 16, 2026

मंसीर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत बृहत् प्रचारप्रसार शुरु भएको छ । यसपटक निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी र भयरहीत बनाउने दाबी गरेको छ । त्यसै अनुसार शुरु भएको बृहत् सभा, जुलुसप्रति आम मतदाता भने उत्साहित देखिएका छैनन् । यसअघि उम्मेदवारहरु घरदैलो तथा भेटघाटमा व्यस्त थिए । खासगरी दुई धु्रवका बीच हुने यसपटकको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारहरु मुख्य राजनीतिक दलहरुलाई टाउको दुखाइ भएका छन् । जसका कारण अनुमान गरिए जस्तो मतपरिणाम आउन सक्ने सम्भावना पनि देखिएको छैन । त्यसैगरी आममतदाताहरुमा विगतको जस्तो निर्वाचनप्रति उत्साह र उत्सुकता पनि छैन । विगतका निर्वाचन, निर्वाचित व्यक्ति तथा दलहरुको मतदाताप्रतिको उदासीनताले उत्पन्न अवस्था प्रजातन्त्रकै लागि हानीकारक हुनसक्छ ।

नयाँ संविधानले जनतामा नयाँ आशा पलाएको थियो । राजनीतिक स्थिरता कायम भई शान्ति, समृद्धि र भौतिक विकासको प्रारम्भ हुन्छ भन्ने आशा थियो । तर, संविधान जारी भएपछिको संसद, सरकार तथा राजनीतिक दलहरुले जनअपेक्षा अनुरुप काम गरेनन् मात्रै होइन सत्ता प्राप्तिको लुछाचुँडीमा रमाएर अस्थिरतालाई मलजल गरे । देशको क्षमताले नथेग्ने गरी निर्माण गरिएका संरचनाहरु, सरकार ढाल्ने र बनाउने प्रपञ्चसँगै हुर्किएको भ्रष्टाचारले पनि निर्वाचनप्रति आमजनतामा वितृष्णा बढाएको हुनसक्छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ उखान चरितार्थ हुँदै गएको अवस्थामा राजनीतिक दलहरुले आफूहरुलाई परिष्कृत र परिमार्जन गर्न जरुरी छ ।

जनतासँग मत माग्न जाने आधार भनेको घोषणा पत्र हो । जहाँ आफू निर्वाचित भएको खण्डमा सम्पन्न गर्ने कामको विवरण समाबिष्ट हुन्छ । प्रतिबद्धतापत्र पनि भनिने दलहरुका यस्ता पत्र सार्वजनिक पनि भइसकेका छन्, तर ती सबै विगतका घोषणाको निरन्तरता मात्रै छन् भनेर टिप्पणी हुन थालेको छ । यस्तोमा मतदातामा उत्साह जगाउन उनै दल तथा उम्मेदवारहरुले परिश्रम गर्नुपर्छ । त्यसै पनि लाखौं मतदाता मतदान गर्नबाट वञ्चित छन्, भएका कति मतदातालाई निर्वाचन शिक्षाको खाँचो छ भने कतिपयमा निर्वाचनप्रति उत्सुकता नै छैन । यस्तोमा प्रजातन्त्र र लोकतन्त्रको आधार भनिने आवधिक निर्वाचनले पनि स्थापित प्रणालीलाई व्यवस्थित गर्न सक्दैन । त्यसैले तिनै पुराना, परख भइसकेका र पटक–पटक परीक्षण गरिएका पात्रहरुलाई अघि सारेर निर्वाचनमा होमिएका दलहरुले नै जनविश्वास र उत्साह जगाउन लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *