झापामा १५ जनाको उम्मेदवारी फिर्ता
झापा।

प्रतिनिधिसभा सदस्यका लागि ७ र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकामध्ये ८ गरी झापाबाट १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभा सदस्यतर्फ झापा क्षेत्र नम्वर १बाट सन्तराज कार्की– राप्रपा नेपाल, झापा क्षेत्र नम्वर २बाट अपर्ण बस्नेत– स्वतन्त्र, कमल प्रसाद खरेल– राप्रपा नेपाल रहेका छन् ।
झापा क्षेत्र नम्वर ४बाट ख्याम नेपाल– स्वतन्त्र, बिजय प्रसाद राजवंशी– राप्रपा नेपाल, क्षेत्र नम्वर ५– विष्णु प्रसाद सिग्देल– स्वतन्त्र र सुलोचना राजवंशी स्वतन्त्र रहेका छन् । त्यस्तै प्रदेशसभातर्फ झापा क्षेत्र नम्वर १को (२) बाट गीताप्रसाद अधिकारी, र राजन चिमरिया– स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
झापा क्षेत्र नम्वर ४को (२) बाट भरतकुमार श्रेष्ठ– स्वतन्त्र, ५को (१) बाट इन्द्रबहादुर न्यौपाने– स्वतन्त्र, ५को (२) बाट दीपेन्द्र तिवारी, वेदनिधि गौतम, राजन चापागाँई स्वतन्त्र र वाशुदेव भट्टराई राप्रपा नेपालले उम्मेदवारी फिर्ता लिएका हुन् ।
झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आगामी मंसीर ४को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको थियो ।
आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले बुधवार १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने गरी समय तोकिएको थियो ।
आ–आफ्नो दलको गठबन्धन विपरीत प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका झापा–२ का नेपाली कांग्रेसका नेता कुमार भट्टराई र झापा ३ का एमाले नेता डम्बर गिरी र झापा ४ मा उम्मेदवारी दिएकी राप्रपा नेतृ खुश्बू ओलीले उम्मेदवारी फिर्ता लिएनन् ।
