September 25, 2026

मारवाडी महिलाहरुको सांस्कृतिक पर्व ‘सीन्धारा’मा विविध कार्यक्रम

0

अर्जुनधारा ।

“रंगीलो सावन आयो रे” भन्ने मुख्य नारासहित मारवाडी महिलाहरुको सांस्कृतिक पर्व ‘सीन्धारा’को अवसरमा झापाको बिर्तामोडमा विविध कार्यक्रम गरी मनाइएको छ ।

साउन महिनाको आगमनसँगै मारवाडी महिलाहरुले विशेषरुपमा मनाउने उक्त पर्व नेपाली महिलाहरुको साझा चाड तीज जस्तै रहेको मारवाडी युवा मञ्च बिर्तामोडका महासचिव पवन शर्माले जानकारी दिए ।

मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्च बिर्तामोडको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा मारवाडी समुदायसँग जोडिएको परम्परागत विषयको झल्को दिने सामग्रीहरुको प्रदर्शनी, राजस्थानी लोक नृत्य, रमाईलो खेल, हाउजीलगायत सञ्चालन गरिएको मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवालले जानकारी दिइन् ।

सोही कार्यक्रममा भारतको कलकत्ता र सिलीगुडीबाट आएका कलाकारद्वय नेहा गुप्ता र ललित पारिकले राजस्थानी गीतसँगै विभिन्न चलचित्रका गीतहरु प्रस्तुत गरेका थिए ।


मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष पवन केडियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मञ्चका सल्लाहकारहरु सन्तोष अग्रवाल, सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, माहेश्वरी महिला मञ्चकी अध्यक्ष रीता चित्लांगिया, मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष टेकेन्द्र अग्रवाललगायतको आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन मारवाडी युवती मञ्चकी संयोजक ऋचा अग्रवाल र सचिव  रेणु शर्माले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *