झापा बजारमा हुलाकी राजमार्गको काम अवरुद्ध
कुमरखोद ।

झापा गाउँपालिकामा बन्दै गरेको हुलाकी राजमार्गको काममा अवरोध भएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा बजार क्षेत्रमा जनप्रतिनिधि र स्थानीयवासीले काम रोकेका हुन् ।
बजार क्षेत्रमा हुलाकीले ७२ फिटको चौडाइको बाटो बनाए पनि कालोपत्रे पिच ४६ फिट मात्र बनाउन लागेपछि विरोध भएको हो । वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष हिमालकुमार चम्लागाईको नेतृत्वको टोलीले हुलाकी राजमार्गको कालोपत्रे पिचको काममा अवरोध गरेको थियो ।
वडा अध्यक्ष चम्लागाईले हुलाकी राजमार्ग बनाउन ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सन कम्पनीले झापा बजारदेखि पश्चिम कमानसिंह लिम्बुको घरदेखि पश्चिम सानो माई खोलासम्म पानी निकासको लागि पैनी अहिलेसम्म नबनाएको,सानो माईको पुल बनाएको दुई वर्ष भइसके पनि अहिलेसम्म आवतजावत गर्न सहज नबनाएको र रजत जयन्ती चोकदेखि पंचमको मिलसम्म १२०० मिटर टाढाको दुरीसम्म हुलाकीले ७२ फिट चौडाइ बाटो वनाएपनि ४६ फिट मात्र कालोपत्रे बनाउन लागेकोले काम रोकेको बताए ।
आफूहरूको माग पुरा नहुन्ज्यालसम्म बजार क्षेत्रमा काम गर्न नदिने वडा अध्यक्ष चम्लागाईले बताए ।
