सेवा निवृत्त पूर्व प्रहरीलाई औषधोपचारमा पथरी अस्पतालले छुट दिने
छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे-१ स्थित पथरी अस्पतालले सेवा निवृत्त भैं अवकाश लिएका पूर्व प्रहरीहरुलाई औषधोपचारमा छुट गर्ने भएको छ ।
नेपाल पूर्व प्रहरी संगठन पथरीशनिश्चरे र पथरी अस्पतालवीच बुधबार भएको संझौता अनुसार पूर्व प्रहरी र प्रहरीको परिवारलाई छुटमा औषधोपचार गर्ने निर्णय भएको हो । इलाका प्रहरी कार्यालय पथरीमा इन्चार्ज समेत रहनुभएका डीएसपी बेदप्रसाद गौतमको संयोजनमा पूर्व प्रहरी र उनको परिवारलाई उपचारमा छुट गर्ने सम्झौता भएको थियो ।
पथरीस्थित नेपाल पूर्व प्रहरी संगठनको पथरीशनिश्चरे नगरसमितिको कार्यालयमा भएको सम्झौता अनुसार पूर्व प्रहरीहरुलाई उपचारमा बेड सहित ५५ प्रतिशत, ल्याब सेवामा ४० र औषधिमा १० प्रतिशत छुट गर्ने सम्वन्धि पूर्व प्रहरीसित संझौता भएको पथरी अस्पतालका प्रबन्धक इश्वरी सापकोटाले जानकारी दिनुभयो ।
पूर्ब प्रहरी संगठन पथरीशनिश्चरे नगर समितिका अध्यक्ष नरहाङ राईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रहेका डीएसपी बेदप्रसाद गौतमले आफ्नो प्रस्ताव स्वीकारेर पूर्व प्रहरीहरुलाई उपचारमा सहयोग दिने अस्पताल परिवारलाई धन्यवाद दिनु भएको छ ।
अस्पतालका प्रबन्धक इश्वरी सापकोटाले सामाजिक उत्तरदायित्व स्वरुप पूर्व प्रहरीहरुलाई औषधि उपचारमा छुट दिने बताउँदै जेष्ठ नागरिक र बेवारिस बिरामी गरिबहरुलाई पनि सामाजिक दायित्व सम्झेर केही नि:शुल्क र केही छुटमा उपचार सेवा प्रदान गर्दै आएको बताउनुभयो।
हरेक अस्पतालले १० प्रतिशतलाई सामाजिक उत्तरदायित्व स्वरुप उपचारमा छुटमा उपचार गर्ने राज्यको नियम रहेको पनि सापकोटाले बताएका छन् । पथरी अस्पतालको तर्फबाट सापकोटा, पूर्व प्रहरीको तर्फबाट अध्यक्ष नरहाङ राई र रोहोबरको रुपमा डीएसपी बेदप्रसाद गौतमले हस्ताक्षर गरेका छन् । अस्पतालले पेन्सन पट्टाको आधारमा परिचय पत्र दिने र सोहि आधारमा छुट गरिने अस्पतालको प्रबन्धक इश्वरी साप्कोटाले प्रष्ट्याउँनु भएको छ।
