October 4, 2026

इम्बोस्ड नम्बर प्लेटबारे राजेन्द्र लिङ्देनको ट्वीट

0

बिर्तामोड ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु दुःखद् भएको बताउनुभएको छ । हाल चर्चामा रहेको सवारी साधनको इम्बोस्ड नम्बर प्लेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटर एकाउन्टमा अध्यक्ष लिङ्देनले इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित अनेक आशंकाहरु लेख्नुभएको छ । उहाँले इम्बोस्ड नम्बर प्लेटमा कमिसन र भ्रष्टाचार रहेको कुरातर्फ सबैलाई सचेत गराउनुभएको हो ।

‘इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने समयसीमाको कुरा मात्रै होइन, कुरा भाषाको हो, सुरक्षाको हो, लागतको हो,’ उहाँले उल्लेख गर्नुभएको छ, ‘कुरा कमिसन र भ्रष्टाचारको हो । र, सबैभन्दा दुःखद् कुरा त नेपालमै नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु हो ।’ यसप्रकारका सबै गलत कामको विरुद्धमा आफूहरु निरन्तर रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि यसको चौतर्फी विरोध भएको थियो । सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि यातायात कार्यालयमा सवारी धनीहरुको भीड सुरु भएको थियो । तर, तीव्र विरोध भएपछि यातायात व्यवस्था विभागले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *